झ्याप्लेखोलाबाट २५ शव निकालियो

काभ्रेपलाञ्चोकमा दुई हजार ७७३ जनाद्वारा उम्मेदवारी

बनेपा।  यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएका छन् । 

नेकपा (एमाले) एक्लैले स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको छ भने गठबन्धनबाट स्थानीय तहमा भागबण्डा गरी मनोनयन दर्ता गरिएको छ । वडामा भने अनुकूलताका आधारमा गठबन्धन गरेको दलहरूले जनाएका छन् । बनेपा नगरपालिका प्रमुखमा १० तथा उपप्रमुखमा आठ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुख पदमा ११–११ जनाले मनोनयन दर्ता गराएका छन् । बनेपाको उपप्रमुखमा तीन र मण्डनदेउपुरको उपप्रमुखमा चार जनाले मनोनयन दर्ता गराएका छन् । धुलिखेल नगरपालिका प्रमुखमा १० र उपप्रमुखमा ६, पाँचखाल नगरपालिका प्रमुखमा ६, उपप्रमुखमा पाँच र नमोबुद्ध नगरपालिका प्रमुखमा चार र उपप्रमुखमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

कोशीपारिस्थित भुम्लु गाउँपालिका अध्यक्षमा आठ र डाँडापारिस्थित खानीखोला गाउँपालिका अध्यक्षमा सात जनाको मनोनयन दर्ता भएको छ । उपाध्यक्षमा चार–चार जनाले उम्मेदवारी दिनुभएको छ । यस्तै रोशी, चौँरीदेउराली, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्षमा पाँच–पाँच जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा चार–चार जना, बेथानचोकमा आठ र चौँरीदेउरालीमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । महाभारत गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा ६७०, सदस्यमा एक हजार ३७, महिला सदस्यमा ४८७ र दलित महिला सदस्यमा ४३० जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ४७ बजे