झ्याप्लेखोलाबाट २५ शव निकालियो

उम्मेदवारी रद्द गरिएका एमालेका दुई अध्यक्षको नाम पुनः समावेश गरियो 

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिई रद्द गरिएका दुई जनाको नाम पुनः उम्मेदवारको सूचीमा राखिएको छ । निर्वाचन आयोगको निर्देशन पश्चात् उम्मेदवारी रद्द गरिएका दुबै जनाको नाम पुनः उम्मेदवारको सूचीमा राखिएको हो । 

सोमबार भएको मनोनयन दर्तामा गाउँपालिका अध्यक्षमा एमालेबाट दुई जनाको उम्मेदवारी परेको थियो । सुरुमा गाउँपालिका अध्यक्षमा तेम्ब्रेल तामाङले मनोनयन दर्ता गरेका थिए । तामाङ तत्कालीन नयाँ शक्ति पार्टीबाट समानुपातिकको बन्द सूचीमा रहेको पाइएपछि तत्कालै फुर्पूसिंगी तामाङले मनोनयन दर्ता गराएका थिए । 

आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइटेलले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको गाउँपालिका प्रमुखका उम्मेदवार फुर्पूसिंगी तामाङको रद्द भएको सूचना प्रकाशित गरेका थिए । 

मंगलबार आयोगले मनोनयन दर्ता दिने, उजुरी जाँचबुझ गरी निर्णय गर्नुपर्ने समयभित्र जाँचबुझ गरेपछि मात्र मनोनयन पत्र स्वीकृत एवं खारेजी सम्बन्धी निर्णय गर्न निर्देशन दिएसँगै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवारी दिएका दुवै जनाको नाम समावेश गरिएको लुइटेलले बताए । 

एमालेबाट पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका तेम्ब्रेल तामाङ र फुर्पुसिंगी तामाङबिरुद्ध मंगलबार दाबी बिरोध सम्बन्धि उजुरी परेको उनले बताए । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट उजुरी परेको उनले बताए । आएका दाबी बिरोध सम्बन्धि उजुरीबारे बुधबार र बिहीबार जाँच गरि बिहीबार निर्णय हुने उनले बताए ।

निर्वाचन आयोगले ११ र १२ गते मनोनयन दर्ता, १३ गते दाबी बिरोध, १४ र १५ गते दाबी बिरोधको जाँच गर्ने, १६ गते अन्तिम नामावली प्रकाशन गर्ने, १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने भनेको छ । 'आयोगले आएका सबैको मनोनयन दर्ता गर्न र जाँच गर्ने बेलामा रित नपुगेको भए रद्द गर् भनि निर्देशन दिएको छ, हामीले आएका सबैको नाम दर्ता गरेका छौँ, उनले भने, 'बुधबार र बिहीबार जाँच गर्नेछौँ र बिहीबार कसको रहने कसको रद्द हुने भन्ने निर्णय हुनेछ, एकजनाको समानुपातिकको बन्द सूचीमा छ, यो रद्द हुन्छ, तर हामीले यसको निर्णय पनि बिहीबार नै गछौँ । '

मनोनयन दर्ता पश्चात् परेका दाबी बिरोधको उजुरीको जाँच गरि निर्णय गर्नुपर्नेमा निर्वाचन अधिकृतको कार्यालय आमाछोदिङ्मोले मनोनयन दर्ताकै दिन रद्द गरेको सूचना प्रकाशित गरेसँगै मंगलबार दिनभर विवाद भयो । 
आमाछोदिङ्मो गाउँपालिकामा पालिका अध्यक्षका लागि ८ जना र उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ४१ बजे