झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

भण्डारी र आश्रितको शालिक तोडफोडको घटनाप्रति फाउण्डेशनको ध्यानाकर्षण

​​​​​​​काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा रहेको जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउण्डेशनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक र सामाजिक रूपान्तरणको आन्दोलनमा होमिए बापत मृत्युवरण गर्नुपरेका दुई जना लोकप्रिय नेताहरूको नाममा स्थापित संरचनाहरूलाई क्षति पुर्‍याउनु वा उहाँहरूको शालिक तोडफोड गर्नु एउटा विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहारको द्योतक भएको बताएको छ । 

“लोकतन्त्रको उच्चतम अभ्यासको रूपमा रहेको स्थानीय निर्वाचनको प्रक्रिया सुरु भएसँगै घटेको यो घटनाले लोकतान्त्रिक शक्तिहरूलाई चुनौती दिएको अनुभूति भएको छ ।”, फाउण्डेशनका सचिव पेम्बा लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फाउण्डेशनले हेटौँडामा भएको उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

अज्ञात समूहले गए राति हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको थियो भने मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा भेटिएको थियो ।

पार्कमा रहेका अन्य संरचना भने यथावत् रहेको र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनुले स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हुनसक्ने आशङ्का पैदा भएको छ । 

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : २२ बजे