कीभको चिहान गृहमा एक हजार २० शव : युक्रेन

बोरोडीयानक – युक्रेनको राजधानी कीभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ । 

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ ।  

रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् ।

“ती शवहरू सडक तथा विभिन्न घरहरूबाट सङ्कलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,” एक अधिकारीले भने । 

देशका अन्य ठाउँहरूमा पनि यस्तैगरी शवहरू छरिएको र सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरूको भनाइ छ । 

रुसले युक्रेनमाथि गत फेब्रअरी २३ मा आक्रमण गर्न थालेको हो । आक्रमणका कारण हजारौँको मृत्यु भएको, हजारौँ घाइते भएको र लाखौँ मानिस विस्थापित भएको दाबी गरिएको छ । 

त्यसैगरी धेरै भौतिक संरचनाहरूमा पनि क्षति भएको छ । साथै अन्तर्राष्ट्रिय बजार तथा राजनीतिमा समेत यसले नकारात्मक असर पारेको छ । 

संयुक्त राष्ट्रसङ्घलगायतका धेरै अन्तर्राष्ट्रिय समुदायले आक्रमणको विरोध गरेका छन् भने दर्जनौँ देशहरूले तत्काल आक्रमण रोक्न रुसलाई आग्रह गरेका छन् । 

आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि रुसले भने आक्रमण जारी राखेको छ । आक्रमण भएको सुरुका केही दिनमा चरण चरणमा दुई पक्षीय वार्ता भए पनि निष्कर्ष निकाल्न नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ । 

रासस÷एएफपी

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ९ : २५ बजे