झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दलको प्रतिज्ञा पत्रको रूपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र÷प्रतिबद्धता पत्रमा मानवअधिकारको विषय समावेश गर्न आग्रह गरेको छ ।

आयोगले दलको घोषणापत्रमा मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप उच्च महत्त्व र प्राथमिकताका साथ मानवअधिकारका विषयलाई समावेश गर्न सबै राजनीतिक दलहरूलाई विशेष आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मङ्गलवार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र÷प्रतिबद्धता पत्रमा मानवअधिकारका विषय समावेश गर्न निर्वाचनमा भाग लिने सबै दलहरूलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “विगतमा राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई समावेश गरेकामा सराहना गर्दै दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानवअधिकारका विषय समावेश हुनेछ भन्ने आयोगले अपेक्षा गरेको छ ।” लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार र आवधिक निर्वाचन समेतको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको र त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी राजनीतिक दलहरूको रहेको कुरा आयोगले सबै दलहरूलाई स्मरण गराएको छ ।  

समृद्ध राष्ट्र निर्माण गर्ने सन्दर्भमा नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक तथा राजनीतिक अधिकारको सुनिश्चिततालाई स्वीकार गरी हक अधिकारलाई मौलिक हकको रूपमा नेपालको संविधानले व्यवस्था गरेको सन्दर्भमा त्यसको कार्यान्वयनमा राजनीतिक दलको समेत जिम्मेवारी रहन्छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २० मा उल्लिखित राजनीतिक दलको काम, कर्तव्य र अधिकारअनुरूप पनि दलहरूले आफ्ना क्रियाकलापलाई मानवअधिकारमैत्री बनाउनुका साथै घोषणापत्रमा समेत मानवअधिकारका विषयवस्तु समावेश गर्नुपर्ने हुन्छ ।

नागरिकको अधिकार सुनिश्चितताका लागि संविधानले विभिन्न १२ वटा नीतिहरू अवलम्बन गरेको हुँदा मानव अधिकार र मौलिक हकका साथै त्यस्ता नीतिहरूको समेत कार्यान्वयनको दायित्व राज्यको हुन्छ ।

आयोगले निर्वाचनका क्रममा भयरहित, निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिन पाउने अधिकारको संरक्षण गर्नका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दललगायतलाई विभिन्न सिफारिस गरेको सम्बद्ध सबैलाई पुनः स्मरण गराएको छ ।

नेपालले मानवअधिकारसम्बन्धी विभिन्न ४१ वटा अन्तर्राष्ट्रिय महासन्धिलाई स्वीकार गरिसकेको सन्दर्भमा मानवअधिकारप्रतिको सम्मान, संरक्षण र परिपूर्ति गर्ने दायित्व राज्यका साथै सरकार सञ्चालन गर्ने दलहरूको पनि हुने आयोगको ठहर छ । 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : १० बजे