यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कर्फ्युको अवज्ञाबीच श्रीलङ्काका २६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौँ । दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गर्नुभएको छ ।

बिबिसीका अनुसार मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाउनुभएको छ तर प्रधानमन्त्री महिन्द राजपक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गर्नुभएको छैन।

यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए। श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भए यताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ। र यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ।

लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन्।

श्रीलङ्काका शिक्षा मन्त्रीले आइतबार मन्त्रिपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुभएको बताउनुभयो । राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि हुनुहुन्छ । 

खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्किएपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो। त्यसको अघिल्लो दिन राष्ट्रपति गोटाबय राजपक्षको निवास नजिकै झडप भएको थियो। उहाँको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको थियो। तर प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि तथा मानिसहरूलाई कुटपिट गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको सहभागीहरूको भनाइ छ।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : ०६ बजे