भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

लमजुङको सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु 

लमजुङ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

सुन्दर बजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मङ्गलवार दिउँसो मर्स्याङ्दी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ः०० बजेदेखि अनिश्चितकाल सम्मका लागि कर्फ्यु जारी गरेको हो । 

छात्रावासका वार्डेनले मङ्गलवार विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पौडी खेल्ने क्रममा कक्षा १० मा अध्ययन श्रेष्ठको निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए । उनीहरूले २ वटा स्कुल बस , गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु जारी गर्नुपरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ, कर्फ्युको क्षेत्र सुन्दर बजार नगरपालिका–७ को पूर्व दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका-९ को मध्य मर्स्याङ्दी जलविद्युत आयोजना केन्द्रको विद्युत् केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ । 

मृतकका आफन्तले  विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थीलाई पौडी खेल्न लैजाने शिक्षकलाई कारबाहीको माग गरेका छन् । तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए ।

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : २३ बजे