भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीे भवन निर्माण भएको छ।  

सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने सङ्घीय सरकारको योजना अनुसार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा भवन निर्माण भएको हो । 

प्रदेश प्रहरी कार्यालय मार्फत ठेक्का लिएका निर्माण व्यवसायीले भवन बनाएर हस्तान्तरण गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले जानकारी दिनुभयो । “ निर्माण व्यवसायीले भवनको चावी हस्तान्तरण गरिसकेका छन्”, उहाँले भन्नुभयो “जनशक्ति व्यवस्थापन गरेर प्रहरी चौकी स्थापना गर्ने तयारीमा छौ ।”

तीन तले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १०  कोठा छन् । दुई वटा भान्छा कोठा, शौचालय र स्नानगृह छन् । भवन बनाउन वि.स. २०७७ असोजमा शिवाको–जयलक्ष्मी जे.भी बागलुङले रु. एक करोड ८७ लाख ६२ हजारमा ठेक्का लिएको थियो । 

भवन निर्माणका लागि गाउँपालिकाको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठू खत्रीले निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोष्ट छन् । 

घोरेपानी, घार, भुरुंगङ–तातोपानी, भगवति, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिंगा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी इकाइ छन् । जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सिमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् ।

अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन वनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ । रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १२ : ५९ बजे