भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु

पर्वत । स्थानीय तहको निर्वाचनको तयारीका क्रममा पर्वतमा मतदाता विवरण अद्यावधिक गर्ने काम सुरु भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रवारदेखि त्रुटि सच्याउन सुरु भएको छ । 

निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको थियो ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले आयोगको वेबसाइटमा राखिएको विवरण प्रत्येक वडा कार्यालयमा प्रिन्ट गरेर पठाइएकाले आफ्नो विवरण हेरेर सच्याउनुपर्ने भएमा वडाको सिफारिससहित निर्वाचन कार्यालयमा आउन अनुरोध गर्नुभयो ।

एक हप्ताको अवधिमा विवरण सच्याउन नआउनेले पछि विवरण सच्याउने मौका नपाउने उहाँको भनाइ थियो

राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, पत्रकारलगायतको सहभागितामा निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक र कार्यालयको निर्वाचन लक्षित तयारीका बारेमा शुक्रवार एक कार्यक्रम गरेर जानकारी  दिएको थियो । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा  एक लाख २३ हजार १८५ मतदाताको विवरण सार्वजनिक भएको छ । 

विसं २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी शर्माले बताउनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८८५ बढी मतदाता  देखिन्छ । 

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले शुद्ध नामावली, स्वच्छ निर्वाचन भन्ने मूल मर्मलाई ख्याल गर्नुपर्ने बताउनुभयो । 

निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा, सवारी साधनको व्यवस्थालगायत तयारी सुरु भइसकेको उहाँको भनाइ थियो ।रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : १७ बजे