त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ महिनामा २ लाख १३ हजारभन्दा बढीले गरे आवतजावत 

काठमाडौँ । कोरोना महामारीबीच काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टी आइए) बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४ सय ५५ जनाले आवतजावत गरेका छन् । 

अध्यागमन विभागका अनुसार टीआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख २३ हजार ९५६ जना नेपालबाट बाहिरिने रहेका छन् । 

विभिन्न देशबाट नेपाल आउनेमा ७० हजार ३२६ जना पुरुष, १९ हजार १६२ जना महिला र पहिचान नखुलेका ११ जना रहेका छन् । 

सन् २०२२ जनवरीमा नेपाल छोड्नेमध्ये एक लाख ३५१ जना पुरुष, २३ हजार ५९४ जना महिला र पहिचान नखुलेका ११ जना रहेको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागका अनुसार गत जनवरीमा टिआइएबाट आवतजावत गर्नेमा विदेशको सङ्ख्या ३४ हजार ९५९ रहेको छ भने नेपालीको सङ्ख्या १ लाख ७८ हजार ४९६ रहेको छ । 

जनवरीमा विभिन्न देशबाट ७२ हजार ५२४ जना नेपाली स्वदेश फर्केका थिए । सोही अवधिमा १ लाख ५ हजार ९७२ जना नेपाली देश छोडी विदेश गएको विभागले जनाएको छ । 

गत वर्ष सन् २०२१ मा कूल १५ लाख २१ हजार ४३४ जनाले टिआईबाट आवतजावत गरेका थिए । यसरी आवतजावत गर्नेमा नेपाल आउनेको सङ्ख्या ७ लाख ३८ हजार ५४ रहेको थियो भने नेपालबाट बाहिरिनेको सङ्ख्या ७ लाख ८३ हजार ३८० रहेको थियो । 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : ३२ बजे