माइतीघरदेखि बानेश्वरसम्म ठुलो सङ्ख्यामा प्रहरी तैनाथ 

काठमाडौँ । विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौँको माइतीघरदेखि नयाँबानेश्वर सम्मको सडकमा ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरू राखेका छन् । 

विरोध कार्यक्रम बानेश्वरस्थित संसद् भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठुलो सङ्ख्यामा प्रहरी खटाइएको हो । 

एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्ये नेपाली काँग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : ३८ बजे