मतदाता परिचय पत्र हराएकाले  फागुन २० गतेसम्म निवेदन दिन सक्ने

लमजुङ । लमजुङमा मतदाता परिचय पत्र हराएको नागरिकले फागुन २० गतेभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । 

जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिनेछ ।

कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचय पत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ । मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचय पत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ । 

कार्यालयले जिल्लाका सक्रिय राजनीतिक दल, सरोकारवालालाई उक्त जानकारी गराइसकेको छ । अब चार नगरपालिका र चार गाउँपालिकामार्फत नागरिकलाई जानकारी गराइने सूचना अधिकारी जिबाखर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “मतदान गर्ने अधिकारबाट वञ्चित हुन नपरोस् भनेर २० फागुनसम्म उक्त व्यवस्था गरिएको हो ।”

कार्यालयका अनुसार लमजुङमा ११ महिनामा नौ हजार ६ सय ६० नयाँ मतदाता दर्ता भएका छन् । २०७७ चैतदेखि २०७८ को २४ माघसम्म उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । महिला मतदाता दर्ता चार हजार ३२ र पुरुष मतदाता दर्ता पाँच हजार ६ सय २८ रहेका छन् । बाहिरी जिल्लाका एक सय एक मतदाता दर्ता भएका छन् । महिला २५ जना र पुरुष मतदाता ७६ जनाको दर्ता भएको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थानीय तह निर्वाचन घोषणासँगै निर्वाचन आयोगको निर्देशनअनुसार स्थगन गरिएको छ । 

१६ वर्ष उमेर पूरा भएपछि मतदाता दर्ता गर्न सकिने छ । १८ वर्ष उमेर पूरा भएकाले मतदान गर्न सकिने व्यवस्था छ । ३० वैशाख ०७९ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २४ माघ ०७८ भित्र मतदाता नामावलीमा नाम दर्ता गर्नेले मत हाल्न पाउनेछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : २६ बजे