कवाड बन्दै मधेस प्रदेश सरकारको पाँच वटा बस

जनकपुरधाम । मधेस प्रदेश सरकारले झन्डै डेढ वर्षअघि करोडौँ रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँच वटा बस कवाड बन्दै गएका छन्।

२०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँच वटा बस सञ्चालन नभएर लामो समयदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ । 

मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठ वटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो । तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुँदा बस अहिले खुल्ला अकासमुनि थन्काएर राखिएको छ । खुल्ला अकासमुनि राखिएको बसको रङ डिस्कलर हुनुको साथै ब्याट्री, इन्जिन, टायरलगायतका खराब हुँदै गएको छ । बस सञ्चालनका लागि फेरि लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ ।

बस खरिद गरिए पनि चालक, बसको भाडा दर तथा बस सञ्चालनका लागि आवश्यक नीति निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले जोड दिन सकेको छैन । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बस खरिद गर्नुभएको थियो । तर नेपाली काँग्रेसका नेता रामसरोज यादव मन्त्री भएपछि उहाँले बस सञ्चालनमा खासै तादरुकता देखाउन सक्नुभएको छैन। प्रदेश सरकारले आफैँ बस सञ्चालन गरेमा खर्च बढी लाग्ने भएकाले बस सञ्चालन सम्बन्धी निर्णय अझै हुन सकेको छैन ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव दिपककुमार दासले भन्नुभयो, “बस खरिद गर्नुभन्दा त्यसको सञ्चालनको कार्यविधि तथा कसरी चलाउने विषय स्पष्ट हुनुपर्थ्यो ।  तर त्यस्तो गरिएन, त्यसैले बस अहिले त्यत्तिकै राखिएको छ । बस सम्बन्धी नयाँ कार्यविधि बने पनि त्यसको विधान समितिबाट अहिलेसम्म पास नभएकाले बस थन्केको हो ।”

सचिव दासले प्रदेश सरकारले आफै बस चलाउन नसक्ने स्पष्ट पार्नुभयो । बस चलाएमा प्रदेश सरकारलाई थप आर्थिक भार पर्न जाने उहाँको भनाइ छ । बस सञ्चालनभन्दा पनि त्यसलाई लिजमा दिएर वा कुनै प्रतिष्ठानलाई दिने विषयमा छलफल भइरहेको सचिव दासले बताउनुभयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : १५ बजे