काठमाडौँ । एमसिसीविरुद्ध सत्तासीन दलकै जनवर्गीय सङ्गठन आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँ बानेश्वरस्थित संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ ।
सत्तासीन दलका जनवर्गीय सङ्गठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई मोर्चा तथा अन्य समूहले संसद् भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद् भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएको हो ।
उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएको बताउनुभयो । बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उहाँले उल्लेख गर्नुभयो ।
संसद् भवन क्षेत्रमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । संसद् भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइएको प्रहरी जनाएको छ । संसद् भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ ।
सभामुख अग्नि सापकोटाले आज बिहान ११ः०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आज दिउँसो १ः०० बजे संसद् बैठक बस्दै छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १० : १९ बजे
प्रतिक्रिया