६ राजनीतिक दलको नेपाल बन्द, काठमाडौँ उपत्यकामा प्रभाव न्यून

​​​​​​​काठमाडौँ । एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन् । 

आजको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरूले बन्दको घोषणा गरेका हुन् । 

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् । 

काठमाडौँ उपत्यकामा बन्दको प्रभाव परेको छैन । स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।

गृह मन्त्रालयले मङ्गलवार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।

“नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानुन विपरीतका उल्लेखित गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशअनुसार अनुरोध छ” गृह मन्त्रालयले भनेको छ । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ८ : २४ बजे