अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आग्रह

काठमाडौँ – नेपाल प्रहरीको साइबर ब्यूरोले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई आग्रह गरेको छ ।

    ब्यूरोले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सामाजिक सञ्जालबाट ठगी हुने क्रम बढेको भन्दै यसबाट जोगिन सबैलाई आग्रह गरेको हो ।
    
    ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले विभिन्न किसिमका चिट्ठा परेको भन्दै पैसा लिनका लागि ट्याक्स तिनुपर्ने भन्दै अनलाइनमार्फत पैसा भुक्तानी गरी ठगी गरेको उजुरी बढेको बताउनुभयो ।

    उहाँले आफ्नो पासवर्ड र ओटिपी कोर्ड गोप्य राख्न र अरूबाट यसको दुरुपयोग हुन नदिन सबैलाई आग्रहसमेत गर्नुभयो । साइबर ब्यूरोले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्वारा समयसमयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा जानकारी लिनसमेत अनुरोध गरेको छ । 

रासस

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ४८ बजे