यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने

काठमाडौँ ।  सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।

गत ४ माघको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै अचानक सेवा सङ्कुचन गरेको सर्वोच्च अदालतले आजदेखि सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।

गत बिहीबार बसेको अदालतको फूल कोर्टले आजबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट पूर्ण रूपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताउनुभयो । 

गत माघ पहिलो साता विश्वव्यापी रूपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात् गर्दै सर्वोच्च अदालतले गत माघ ५ गतेबाट सेवा सङ्कुचन गराउँदै आएको थियो । तर, गत माघ ५गतेदेखि २९ माघसम्मको अवधिमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ भने स्थगित गरेको थिएन ।

सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा सङ्कुचनको यस अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथि कारबाही र सुनवाइलाई भने स्थगित गरिएको थिएन । 

कोभिड महामारी नियन्त्रणतर्फ गइरहेको जनाउँदै आइतबारबाट भने सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरू पूर्ण रूपमा सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : ०९ बजे