यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

हतियारसहित भारतीय नागरिक पक्राउ

राँझा – बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ती दुई जनाले बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए । गत पुस २९ गते बर्दिया शीतलाबजारका परशुराम सार्कीको घरमा राति पेस्तोल देखाएर रु तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका उनीहरुले यही माघ १७ गते बाँके खजुरा गाउँपालिका–४ डिगाउँ निवासी सुन व्यवसायी हरिप्रकाश विकको घरबाट रु ५० हजार नगद, साढे तीन तोला सुन र २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए । 

    इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटिएको प्रहरी टोलले एक थान कटुवा पेस्तोलसहित उनीहरुलाई आज पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

रासस

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ०१ बजे