यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

राखेपको कार्यकारी अधिकार पाएको तीन दिनमै सरुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार पाउनुभएका सहसचिव कमलप्रसाद पोखरेलको तीन दिनमै सरुवा भएको छ । 

राखेप सदस्य सचिवको अनुपस्थितिमा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने माघ २४ गतेको निर्णय अनुसार पोखरेलले माघ २६ गते राखेपको कार्यकारी अधिकार पाउनुभएको थियो ।

तर, खेलकुद महाशाखा प्रमुख रहनुभएका पोखरेलले राखेपको कार्यकारी अधिकार समेत पाएको तीन दिनमै माघ २८ गते सरुवा भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँको सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गरेको हो ।

खेलकुद मन्त्रालयमा सहसचिव विदुरप्रसाद खनालको सरुवा भएको छ । पोखरेलको सरुवा भएपछि खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले राखेपको कार्यकारी अधिकारको जिम्मेवारी तोकिसक्नुभएको छैन।

राखेप सदस्य सचिवविहीन हुँदा आर्थिक र प्रशासनिक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाऊ जारी गरेको थियो ।

राखेप दुई महिनादेखि सदस्यसचिव विहीन छ । सरकारले कात्तिक १ गते रमेशकुमार सिलवाललाई सदस्य सचिव पदबाट बर्खास्त गरेर टङ्कलाल घिसिङलाई नयाँ सदस्य सचिवका रूपमा नियुक्त गरेको थियो । तर, सिलवाल सर्वोच्च अदालत पुगेपछि सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी भएको छ । 

अदालतले सिलवालको पदमुक्तिको निर्णय र घिसिङलाई नयाँ सदस्यसचिव नियुक्त गर्ने निर्णय यथास्थितिमा राख्न भनेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ११ : ०२ बजे