यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

प्युठान जीप दुर्घटना अपडेट : मृतक सबैको सनाखत

लुम्बिनी । प्युठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । 

तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

दुर्घटनामा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् । लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्ती सहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गौमुखी गाउँपालिका–६ का एकै परिवारका तीन ज नाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । 

त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया बिपना जिसी रहेका छन् । 

मृतकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते पाँच जना मध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् । 

दुर्घटनामा परी घाइतेहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसीको अवस्था गम्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । 

यसैगरी, किमिचौरकै २५ वर्षीया साबित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

यस्तै, दुर्घटनामा परी आठ जनाको मृत्यु भएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुःख व्यक्त गर्नुभएको छ । 

मुख्यमन्त्री केसीले आज एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

यस्तै, सोही क्षेत्रका प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ । रासस

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ४ : २७ बजे