पूर्वीय दर्शनशास्त्रको सामान्य परिचय

१.साङ्ख्य दर्शन
साङ्ख्य दर्शन प्रकृतिलाई सृष्टिको मूल वा प्रधान कारण मान्ने दर्शन हो । यस दर्शनमा पछि आएर ईश्वरवाद थपिएको भए तापनि यसले मूलतः ईश्वरलाई सृष्टिकर्ता मान्दैन । यो पुरुष र प्रकृति नामका दुई तत्त्वको परम सत्तालाई स्वीकार गर्ने द्वैतवादी दर्शन हो । यसले प्रकृतिलाई कर्ता र पुरुषलाई चेतना मानेको छ ।

साङ्ख्य दर्शन दक्षिण एसियाको सबैभन्दा पुरानो दर्शन मानिन्छ । यस दर्शका प्रतिपादक महर्षि कपिल मानिन्छन् । यस दर्शनले सृष्टिको मूल कारणका रूपमा ब्रह्म वा ईश्वरलाई नमानी प्रकृतिलाई मानेको छ । यस्तो विचार तत्कालीन वैदिक मान्यता विपरीत थियो । त्यसैले तत्कालीन कतिपय व्यक्तिहरूले यसलाई कट्टर भौतिकवादी, धर्म विरोधी र वेद विरोधी भनी आलोचना गरेका थिए । तर पछि यस दर्शनमा पनि ईश्वरवाद घुसाइयो र यसलाई अनिश्वरबाट टाढा पुराइयो । तैपनि आफ्नो जमानामा यस दर्शनले जे गर्यो त्यसलाई महत्पूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।

२. योग दर्शन
योगाभ्यासद्वारा इन्द्रियहरूलाई नियन्त्रण गरी मोक्ष प्राप्त गर्न सकिन्छ र योग नै मोक्ष मार्ग हो भन्ने दर्शन हो यो । यस दर्शनको पनि मौलिक योग दर्शनमा चित्त वा मनका क्रियाकलापको नियन्त्रण गर्नुलाई योग भनिन्थ्यो भने पछि आएर योग भनेको मन र ईश्वरका बीच संयोग गराउने साधन वा आत्म ज्ञानको साधन अर्थात् ब्रह्मज्ञान प्राप्त गरी ‘म नै ब्रह्म हुँ’ भन्ने निष्कर्षमा पुगेर सांसारिक  बन्धनबाट मुक्त हुने माध्यम हो भन्न थालियो ।

योग दर्शनले साङ्ख्य दर्शनको सिद्धान्तलाई अङ्गीकार गरेको हुँदा यसलाई साङ्ख्य दर्शनसँग जोडेर हेर्ने गरिएको छ । कतिपय विद्वानहरूले त साङ्ख्यलाई सिद्धान्त र योगलाई त्यसैको व्यावहारिक पक्षका रूपमा पनि मान्ने गरेका छन् । पछिल्लो चरणमा योग भन्नाले ध्यानद्वारा आत्मालाई ईश्वरसँग जोड्ने साधनका रूपमा लिइएको हुँदा यस दर्शनलाई पूर्णतः भाववादी दर्शनका रूपमा लिइन्छ, तथापि योगद्वारा शरीर, मन, वचन, कर्मको शुद्धि गरिने र यसले शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्ने हुँदा यसलाई महत्त्वपूर्ण दर्शनका रूपमा लिन सकिन्छ ।

३.लोकायत दर्शन
ईश्वर, आत्मा वा परमात्मा नमान्ने र भाग्यमा विश्वास नगर्ने लोकायत दर्शन प्राचीन दक्षिण एसियाको एक मात्र भौतिकवादी दर्शन हो । यसलाई ‘चार्वाक मत’ र ‘बार्हस्पत्य सूत्र’ पनि भनिन्छ । लोक र आयत दुई शब्द मिलेर बनेको यो दर्शन लोकको पक्षपाती अथवा जनतामा फैलिएको लोकमा आधारित भन्ने  हो । यस दर्शनशास्त्रले जनताको पक्षमा काम गर्ने भएकाले जनताको प्रिय दर्शनका रूपमा पनि लिइन्छ ।

माथि भनिसकिएको छ कि यसले ईश्वर, आत्मा, परमात्मा, पुनर्जन्म, स्वर्ग, नर्क आदि कुनै कुरामा पनि विश्वास गर्दैन । त्यसैले जे छ, वर्तमान छ । जे गर्छौ, वर्तमानमा गर । भविष्यको चिन्ता नगर । मरेपछि स्वर्ग जाने वा फेरि जन्मने कुरामा विश्वास नगर भन्ने विचार राख्छ ।

लोकायत दर्शनलाई चार्वाक दर्शन पनि भनिन्छ । यसले आफ्नो कुरालाई पुष्टि गर्नका लागि एउटा सूत्र नै बनाएको छ—
यावज्जिवेत् सुखं जिवेत् ऋणं कृत्वा घृतं पिवेत् । भष्मीभूतस्य देहस्य पुनरागमनम् कुत: । अर्थात् जति बाँच्छौ, सुखले बाँच, ऋण काढेर भए पनि घिउ खाऊ । जलेर खरानी हुने देह फेरि फर्केर आउँछ भन्ने कुरामा विश्वास नगर ।

ईश्वर वा धर्मप्रति विश्वास नगर्ने दर्शन भएको हुनाले धेरैले यसको विरोध गरेका भए पनि यस दर्शनका पक्षधरहरूले निर्धक्कसाथ आफ्नो विचारलाई अघि बढाएको पाइन्छ ।

४.वैशेषिक दर्शन
वैशेषिक दर्शन पदार्थको सच्चा स्वरूप र गुणहरूको ज्ञानद्वारा संसारलाई बुझ्न खोज्ने तथा पदार्थको सच्चा ज्ञानबाट नै मोक्ष प्राप्त हुन्छ भन्ने दर्शन हो । ‘विशेष’ नामको पदार्थलाई समेत मान्ने हुँदा यसको नाम वैशेषिक रहेको भनिन्छ ।

५.न्याय दर्शन
प्राचीन दक्षिण एसियाली दर्शनमा तर्कशास्त्र, प्रमाण शास्त्र, आन्वीक्षिकी, हेतुविद्या आदि नाम दिइएको न्याय दर्शन वास्तवमा यथार्थवादी ज्ञान सिद्धान्त हो । पदार्थको सम्यक् ज्ञानबाट मोक्ष प्राप्त हुन्छ भन्ने सिद्धान्त नै यस दर्शनको मूल सिद्धान्त हो । यस दर्शनले वस्तु स्वयं के हो भन्नेबारेमा नभई वस्तुका बारेमा ज्ञान हासिल कसरी गर्ने भन्नेबारे रूचि राख्दछ ।

न्याय दर्शनका प्रतिपादक गौतमलाई मानिएको छ । उनैद्वारा रचित न्यायसूत्र नै न्याय दर्शनको मूल ग्रन्थ मानिएको छ । यस दर्शनले पनि ईश्वरलाई सर्वोपरि ठानेको छ । संसारको निर्माता अर्थात् सृष्टिकर्ता, पालनकर्ता, र संहारकर्ता भनेको ईश्वर हो र ईश्वर नै संसारको भौतिक शासक हो भन्ने मान्यता राख्दछ ।

६.मीमांसा दर्शन
मीमांसाको अर्थ विवेचना गर्नु, तर्क—वितर्कद्वारा कुनै विषयको मूलतत्व वा वास्तविकता पत्ता लगाउनु, निष्कर्ष निकाल्नु र विवादको समाधान गर्नु भन्ने हो । पूर्व मीमांसा र उत्तर मीमांसा गरी यसका दुई भाग छन् । व्यवहारमा पूर्व मीमांसालाई मीमांसा र उत्तर मीमांसालाई वेदान्त भनिन्छ ।
मीमांसा दर्शन वैदिक अवधारणमा अर्थात् वेद र ब्राह्मणहरूको व्याख्या गर्ने, वेदका मन्त्रको अर्थ स्पष्ट पार्ने र वैदिक मान्यता एवं आदर्शहरूमा देखा पर्ने अन्तर्विरोधहरूको समाधान गर्नेजस्ता काम गर्दछ । मीमांसा सूत्रमा धर्म, यज्ञ र कर्मकाण्डको विवेचना गरिएको छ । आदिम वैदिक युगमा सूर्य, इन्द्र, वरुण, अग्नि आदिलाई खुसी पार्न यज्ञ गरिन्थ्यो । पछि यज्ञ कार्यमा शिथिलता आउँदै गयो । मीमांसकहरूले यस यज्ञ कार्यलाई पुनः जगाउने र नयाँ अर्थका साथ अगाडि बढाउने काम गरे । त्यसैले मीमांसामध्ये पूर्वमीमांसालाई कर्मकाण्ड र उत्तरमीमांसालाई ज्ञानकाण्ड भनिन्छ ।
मीमांसा दर्शन सुरुमा निरीश्वरवादी भए पनि पछि अन्य दर्शनको प्रभावमा पर्दै गएर हो वा अन्य कारणहरूले गर्दा, यो ईश्वरवादी बन्दै गयो । त्यसैले यसलाई प्राचीन दक्षिण एसियाली दर्शनमध्येको वस्तुगत भाववादी दर्शन भन्न सकिन्छ । यस दर्शनले वेदको प्रमाणिकतालाई सर्वोपरि ठान्दछ । मीमांसकहरूले वेदलाई स्वनिर्मित, कहिले नाश नहुने संसारको सबैभन्दा श्रेष्ठ मानेका छन् । यो कसै व्यक्तिले रचना गरेको होइन, आफैँ उत्पत्ति भएको हो, त्यसैले यो दोषरहित पनि छ भन्ने उनीहरूको मान्यता रहेको छ ।

७.जैन दर्शन
जैन दर्शन संसारलाई जीव र अजीवमा विभाजन गरेर हेर्ने एक निरीश्वरवादी एवम् वेदलाई प्रमाण नमान्ने र ब्राह्मणवाद विरोधी दर्शन हो । यो प्राचीन दक्षिण एसियाली दार्शनिक धाराहरूमध्ये अरूभन्दा छुट्टै किसिमको दर्शन हो । यसलाई दर्शनभन्दा बढी धार्मिक विश्वास मानिन्छ ।
जैनका दुई सम्प्रदाय छन्— श्वेताम्बर र दिगम्बर । श्वेताम्बरले सेता कपडा लगाउँछन् भने दिगम्बरले कपडा लगाउँदैनन्, निर्वस्त्र हुन्छन् र आकाशलाई नै वस्त्र ठान्छन् । यिनीहरू आफ्ना सम्पूर्ण आवेगलाई शमन गरी आफूलाई पूर्ण रूपमा वशमा राख्न चाहन्छन् ।

जैन दर्शनले संसारलाई जीव र अजीव गरी दुई भागमा बाढेको छ । जीवको अर्थ आत्मा हो । यस दर्शनमा सबै शरीरमा जीवले बास गर्दछ । उसले प्रत्येक जन्ममा एक छुट्टै शरीर धारण गर्दछ । जन्म र मरण भइरहन्छ तर जीव वा आत्मा भने अनादि एवम् अनन्त छ भनिएको छ । कुनै पनि परम सत्तालाई स्वीकार नगर्नु र सबै कुरालाई संशयका साथ हेर्नु यस दर्शनको एक प्रमुख विशेषता हो ।
जैन दर्शनमा रहेको अणु सिद्धान्त भौतिकवादको नजिक छ । यसको स्याद्वादले द्वन्द्ववादको नजिक पुग्न खोजेको भान हुन्छ । यसले अगाडि सारेको निरन्तर अदृश्य परिवर्तन र अन्तिमको ठुलो परिवर्तनकारी परिणाम भन्ने कुराको मात्रात्मक रूपान्तरण र गुणात्मक परिवर्तनको नियमलाई समात्न खोजेको देखिन्छ । यस दर्शनले ईश्वर र कुनै परम सत्तालाई मान्दैन । यी सबै सकारात्मक पक्ष हुन् । यति भएर पनि पदार्थमा अन्तर्निहित गतिलाई देख्न नसकी धर्मलाई गतिको आधार मान्ने, समयलाई परिवर्तनको बाह्य एवं सहायक कारण हो भन्ने किन्तु आन्तरिक एवं मूल कारण के हो भन्ने जस्ता कमजोर पक्षहरू यस दर्शनमा रहेका हुनाले यो दर्शन पनि भाववादको चङ्गुलबाट मुक्त हुन नसकेको स्पष्ट हुन्छ ।

८.बौद्ध दर्शन
बौद्ध दर्शन संसारका सबै वस्तुहरू अनित्य एवं क्षणिक छन् भन्ने एक अनिश्वरवादी एवं अनात्मवादी दर्शन हो ।

यस दर्शनका प्रतिपादक सिद्धार्थ गौतम हुन् । आजभन्दा करिब २६०० वर्ष पहिले लुम्बिनीमा जन्मेका उनी राजकुमार थिए तर उनले आफ्नो राजपाट छोडी ज्ञानको खोजीमा हिँडे । लामो त्यागपछि उनले ज्ञान प्राप्त गरे । त्यही ज्ञानको सार नै बौद्ध दर्शन हो । उनको ज्ञान अहिंसामा आधारित छ । उनले प्राप्त गरेको ज्ञान तीन वटा खण्ड (त्रिपिटक) मा समेटिएको छ ।

बुद्धका शिक्षालाई सङ्क्षिप्तमा चार आर्य सत्य भनिन्छ । ती हुन्— संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारणका उपायहरू छन् । इन्द्रियद्वारा  भौतिक वस्तुमा हुने आशक्तिलाई दुःख भनिएको छ । असीमित इच्छालाई त्याग गर्दै तृष्णालाई शमन गर्न सकियो भने दुःखको निवारण हुन सक्छ भन्ने यस दर्शको मान्यता रहेको छ ।

दुःख निवारणका लागि आठ वटा उपाय बताइएको छ, ती हुन्— सद् विश्वास, सही अठोट, सत्य कार्य, सत् जीविका, सत् प्रयास, सही चिन्तन र साँचो एकाग्रता । बौद्ध दर्शनले आत्मा, ईश्वर, बह्म आदि कुरालाई मान्दैन । यसले जीव र जगतको सृष्टि ईश्वरले गरेको भन्ने कुरामा पनि विश्वास गर्दैन । यसका साथै बुद्धवादले वेद आदि ग्रन्थलाई स्वतः प्रमाण पनि मान्दैन । यी कुराहरूलाई हेर्दा बौद्ध दर्शन पूर्णतः भौतिकवादी दर्शन हो भन्न सकिन्छ । तर यसले मानिसको पूर्व जन्म र पुनर्जन्ममा विश्वास गर्ने हुँदा यो दर्शन पनि भाववादबाट मुक्त हुन नसकेको देखिन्छ ।

९.वेदान्त तथा वैष्णव दर्शन
वेदान्त दर्शन प्राचीन दक्षिण एसियाली दार्शनिक प्रणाली अन्तर्गतको एक मनोगत भाववादी दर्शन हो । ‘वेदान्त’ शब्दको सामान्य अर्थ ‘वेदको अन्त’ वा ‘वेदको अन्तिम भाग’ भन्ने हो । वेदान्त दर्शन वैदिक साहित्यका अन्तिम रचनाका रूपमा रहेको छ र वेदको समापन खण्ड एवं निचोड मानिने उपनिषदहरूमा पूर्णतः आधारित छ । वैदिक साहित्यको अन्तिम रचनाको रूपमा रहेको उपनिषदहरूमा आधारित भएको हुनाले नै यस दर्शनको नाम वेदान्त दर्शन रहन गएको हो  ।
ब्रह्मको सत्तामा विश्वास गर्ने भएकाले वेदान्त दर्शनलाई ब्रह्मवाद पनि भनिन्छ । वेदान्त दर्शन पछिल्ला वैदिक साहित्यको विवेचना भएकाले यसलाई उत्तरमीमांसासमेत भनिन्छ । ज्ञानमा जोड दिने भएकाले यस दर्शनलाई ज्ञानकाण्ड पनि भनिन्छ ।

१०.शैव एवं पाशुपत र शाक्त दर्शन
शैव एवं पाशुपत र शाक्त दर्शन पनि वेदान्त दर्शनजस्तै भाववादी दर्शन हो । वेदान्त दर्शनमा वेष्णववादी व्याख्या गरिन्छ भने यसमा शिव या शैव तत्त्वलाई सृष्टिको कारण मान्ने गरिएको छ । यस धारामा पनि केही उपधारा रहेका छन्, ती हुन्—शैव, पाशपत र शाक्त धारा  । यी तीनै उपधाराहरूको आआफ्नै किसिमले व्याख्या गरिएको छ । शैव दर्शनले कर्मादि सापेक्ष अर्थात् कर्मादिसँग सम्बद्ध परमेश्वरलाई जगतको कारण मानेको छ । पाशुपत धाराले महेश्वरलाई जगतको कारण मानेको छ भने शाक्त धाराले जगतको सृष्टि, स्थिति र प्रलयको कारण चेतनातत्वलाई मानेको छ । यसले निर्विकल्प चेतनालाई शिव भनेर पुकार्छ ।

(लेखक मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव हुनुहुन्छ ।)

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : २९ बजे