काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रमुख शहरी चुनौती सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ र यूएन ह्याबिटेटसँग थप सहकार्य गरिने बताउनुभएको छ । इजिप्टको कायरोमा जारी वर्ल्ड अर्बान फोरमको कार्यक्रमका क्रममा शुक्रबार यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि (आरओएपी) काजुको इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिंगर ह्याम्डीसँगको द्विपक्षीय बैठकमा उपप्रधानमन्त्री सिंहले नेपालले सामना गरिरहेका प्रमुख सहरी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्यको महत्त्वमा जोड दिनुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार भेटमा आरओएपीका प्रतिनिधि इसिगाकीले तथ्य र तथ्याङ्कमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, नेपालका लागि आवासीय प्रतिनिधि ह्याम्डीले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन रहने जानकारी गराउनुभयो ।
दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न र सहरी योजनालाई मुख्य प्रवाहमा ल्याउने जटिल सहरी चुनौतीहरूको सामना गर्न यूएन ह्याबिटेटको भूमिकामा समेत आवासीय प्रतिनिधि ह्याम्डीले जोड दिनुभयो ।
विश्व फोरमा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रमा सम्बोधन गर्नुभएको थियो । मन्त्री सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गर्नुभएको थियो ।
नेपाल जस्ता विकासोन्मुख देशहरुले धेरै कम कार्वन उत्सर्जन गरेतापनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोग मार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष जोडदार रुपमा उठाउनुभएको थियो । इजिप्टको कायरोमा नोभेम्बर ४ बाट सुरु भएको फोरम आज समापन हुँदैछ । उपप्रधान सिंह शनिबार बिहान १० बजे नेपाल आइपुग्नुहुने छ ।
प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १ : २६ बजे
प्रतिक्रिया