पहिरोले सदरमुकाम आसपासका क्षेत्र जोखिमपूर्ण

पाँचथर। गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन् । सदरमुकाम फिदिम बजार आसपासका बजार तथा बस्ती पहिराका कारण जोखिममा परेका हुन् ।

पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन् । यसअघि पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीयवासी त्रासमा छन् ।

बजार नजिकको सुन्तलीचोकमा सडक माथिबाट ठूलो पहिरो झरेको थियो । यो पहिरोले ठूलो क्षति नगरे पनि पहिरोमाथिको जमिन लच्किएको छ भने सडक केहीतलको जमिन दबिएको स्थानीय बताउँछन् । फिदिम नगरपालिका–७, ८ र १३ लाई सदरमुकामसम्म जोड्ने फिदिम–रानीटार–लुङरुपा सडकमा पहिरो झरेर थुप्रिएको छ ।

सानाठूला ढुङ्गा घर अगाडि थुप्रिएका छन् । वर्षा कम भएकाले स्थानीयवासी घरमा फर्किन थालेका बताउँदै स्थानीय चन्द्रप्रसाद सारु मगरले वर्षा भइञ्जेल विस्थापित भएको बताउनुभयो । जिल्लास्थित नेपाल पत्रकार महासङ्घको शाखाको भवन पनि पहिरोको जोखिममा परेको उहाँले जानकारी दिनुभयो ।

लच्किएको सबै जमिनका कारण स्थानीयमा त्रास थपिएको चन्द्रप्रसादले बताउनुभयो । यहाँ १७ परिवारको बसोबास रहेकामा नौ परिवार पहिरोको त्रासमा बस्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । “सबैले आएर हेरेर जानुभएको छ । अस्थायी रुपले बाटो खोलेपनि पहिरो पन्छाइएको छैन्”, उहाँले भन्नुभयो, “यसपाली मानवीय क्षति नभए पनि यहाँ बस्न डर लाग्छ । पहिरो झरेभन्दा माथि फिदिम बजारलाई धान्ने खानेपानीको ट्याङ्की छ । भवितव्यमा अस्तिजस्तै पानी प¥यो र ट्याङ्की फुट्यो भने यहाँदेखि साभ्राङसम्म बगाएर लैजान्छ ।”

फिदिम नगरपालिका–२ रमितेमा पाँच वर्षअघि रमिते भ्यू–टावर निर्माण भएको थियो । भ्यू–टावर नजिकै सवारी पार्किङस्थल पनि बन्यो । अविरल वर्षापछि यहाँ धेरै क्षेत्रको पानीको भल भेला भयो । मेची राजमार्ग नजिकै रहेको पार्किङ क्षेत्रभन्दा तीन गोलाइ तल सडक छेउको घरमा पहिरो झरेपछि स्थानीयवासी भेला भएर घरमा रहेका मालसामान निकाल्दै थिए ।

उक्त पहिरोले मेची राजमार्ग एक सातासम्म अवरुद्ध भएको थियो । “ठूलो पहिरो झरेपछि परिवारले यहाँ नबसौँ भन्न थाले । अर्कोतिर अर्खौले (नजिकैको अर्को गाउँ)मा पनि पहिरो गएर एक जनाको ज्यान गयो”, रमितेका स्थानीयसमेत रहनुभएका फिदिम–२ का वडा सदस्य राजु राईले भन्नुभयो, “यहाँ सुरु भएको पहिरो बढेर गयो भने यहाँभन्दा मुनि सदरमुकामको क्षेत्रलाई समेत असर पार्छ ।”

फिदिम बजारको चौतारेडाँडा, गैरीबारी तथा साभ्राङ आसपासमा पनि सानोठूलो पहिरो झरेको छ । चौतारेडाँडाका पदमध्वज सुहाङको पक्की घरसम्म पहिरो आइपुगेको छ । “घर चर्किएको छ । भान्साघरलगायत संरचनामा क्षति भएको छ”, स्थानीय सुहाङले भन्नुभयो, “वर्षा हुँदा यहाँ बस्न जोखिम हुन्छ ।”

पहिरोले चौतारेडाँडाकै सीताराम शङ्करको सुँगुरको खोर, गाईगोठ र बारी बगाएको छ । घरको दुई फिट नजिक पहिरो आइपुगेको छ भने घर लच्किएको छ । शङ्कर आजभोलि पहिरोले बगाएको सुँगुरको खोर र गाई गोठका टिन, काठलगायत सामग्री करिब दुई सय ५० मिटर तलबाट निकाल्दै हुनुहुन्छ ।

“भिरालो ठाउँ भएकाले पहिले सानोसानो पहिरो झरे पनि यस्तो क्षति भएको थिएन । अहिले घरको माया मार्नुपर्ने भयो”, शङ्करले भन्नुभयो, “अस्ति वर्षा हुँदादेखि घर छोडेर गयौँ । बजार नजिकै भए पनि पहिरो गएपछि पूर्ण रुपमा विस्थापित भएका छौँ ।” हालसम्म कुनै पनि राहत नपाएको उहाँको गुनासो छ ।

फिदिम–१ गैरीबारीकी मनु राईले पुनःवर्षा भए घरमा बस्न नसिकने बताउनुभयो । उहाँको घरसँगैको कच्ची घर पहिराले पूर्ण रुपमा भत्कायो । राईको घरमाथि चौतारेडाँडामा पहिरो झरेको छ । पहिराले उहाँको घरमाथिका चार घर पूर्ण रुपले विस्थापित भएका छन् । राईको एकतले पक्की घरमा बाढी पस्यो भने दुईतर्फबाट पहिरो झ¥यो । “पहिरो झरेपछि माथिल्लो गाउँ छोरीको घरमा गएर पाँच दिन बस्यौँ”, राईले भन्नुभयो, “पहिरो झर्दा घरमै थियौँ । बस्नै नसकेपछि भाग्यौँ ।”

फालेलुङ गाउँपालिका–५ प्राङ्बुङ पुख्र्यौली भएका राईले गैरीबारीमा जग्गा खरिद गरी घर निर्माण गरेको बताउँदै अहिले पहिराले त्रास सृजना गरेको उल्लेख गर्नुभयो । “सबै सम्पत्ति यहाँ खन्यायौँ । अहिले जोखिम बढेको छ । माथि भिरालो जमिन छ । आउँदो बर्खामा सुरक्षित रहन्छौँ र बाँच्छौँ भन्ने आशा छैन”, उहाँले भन्नुभयो ।

अविरल वर्षापछिको बाढीका कारण फस्के जमिन रहेको फिदिम आसपासका धेरै क्षेत्र जोखिममा परेको फिदिम–१ का वडाध्यक्ष गजाधर भट्टराईले बताउनुभयो । “यस वर्ष जनधनको क्षति भयो । पाँच जनाको ज्यान गयो”, उहाँले भन्नुभयो, “१५ घर बस्नै नसक्ने गरी विस्थापित भएका छन् । तीन सयभन्दा बढी घर तथा संरचनामा क्षति भएको छ ।”

फिदिम बजार आसपासको क्षेत्रका माटो कमजोर रहेको र जुनसुकै विपद्मा पनि जोखिम हुने गरेको वडाध्यक्ष भट्टराईले बताउनुभयो । “विसं २०४५ को भूकम्पदेखियता प्रत्यक्ष देखिरहेको छु, यहाँको जमिनमुनि फस्के ढुङ्गा र माथि माटो छ । माटो भिजिसकेपछि बगेर जान्छ”, उहाँले भन्नुभयो ।

फिदिममा जिल्ला प्रहरी कार्यालयदेखि गैरीबारी, शिवालय मन्दिर, माथिल्लो गाउँ, ट्राफिक कार्यालय र ओदिनसम्म यसप्रकारको माटो रहेको र वर्षात् तथा भूकम्पमा घर भत्किने, चर्किने गरेको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । बजार क्षेत्रका धेरै संरचना जोखिमपूर्ण भएपछि भविष्यमा सुरक्षित बसोबासका लागि पहिरो रोकथामका पूर्वाधार निर्माण तथा सुरक्षित स्थानमा आवास निर्माणमा सबैपक्षले जोड दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सदरमुकामका अधिकांश संरचना रहेको वडा नं १ मा अहिलेसम्म पनि क्षतिको यकीन विवरण सङ्कलन हुन नसकेको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । “हामी सुरुमा बाटो खुलाउन लागिपर्नाले क्षतिको विवरण सङ्कलनमा ढिलाइ भयो”, उहाँले भन्नुभयो, “अहिले क्षतिको विवरण यकीन गर्नेसँगै राहत वितरणको प्रक्रिया पनि अघि बढाइरहेका छौँ ।”

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ४५ बजे