काठमाडौं । कर्जाको ब्याजदर साढे दुई प्रतिशत बिन्दुले सस्तिएको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर २.७१ प्रतिशत बिन्दुले घटेको छ ।
गत साउन महिनामा पनि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको निक्षेपको औसत ब्याजदर क्रमशः ५.६६ प्रतिशत, ६.३६ प्रतिशत र ७.७१ प्रतिशत रहेको थियो । यसरी महिनैपिच्छे निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि सस्तो हुँदै गएको हो ।
विशेषगरि कर्जाको माग नबढ्दा नै यसको ब्याजदर निरन्तर घटीरहेको छ । हाल बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ, जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ । भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर पनि ५.५३ प्रतिशत बिन्दुमा झरेको छ ।
त्यसो त नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको भदौ महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.२३ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने घटेर ९.५२ प्रतिशत कायम भएको छ । एक महिनामै कर्जाको ब्याजदर भने शून्य दशमलव १६ प्रतिशत बिन्दुले घटेको छ । गत साउनमा महिनामा कर्जाको औसत ब्याजदर ९.६८ प्रतिशत रहेको थियो ।
यस्तै, विकास बैंकहरुको कर्जाको ब्याजदर पनि ३.१ प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको भदौमा विकास बैंकहरुको कर्जाको औसत ब्याजदर १३.९९ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही अवधिमा भने घटेर १०.८९ प्रतिशत कायम भएको छ । गत साउनमा भने यस्तो ब्याजदर ११.०७ प्रतिशत रहेको थियो ।
निक्षेपको ब्याजदर एक वर्षको अवधिमा २.५३ प्रतिशत बिन्दुले घटेको हो । गत वर्षको भदौमा भने यस्तो ब्याजदर ८.०६ प्रतिशत रहेको थियो । यता, विकास बैंकको निक्षेपको ब्याजदर पनि ३.१२ प्रतिशत बिन्दुले घटेर ६.३१ प्रतिशत कायम भएको छ । यता, वित्त कम्पनीको यस्तो ब्याजदरमा पनि २.७२ प्रतिशत बिन्दुको गिरावट आई ७.५५ प्रतिशत कायम भएको छ ।
प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ११ : ११ बजे
प्रतिक्रिया