साँढे ११ करोड रुपैयाँ लाभांश वितरण गर्ने शिवम् होल्डिङ्ग्सको तयारी  

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङ्ग्स लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शिवम् होल्डिङ्ग्सका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा भएको वार्षिक साधारणसभाले कम्पनीमा हाल कायम शेयर धनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव र आव २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गरेको छ ।

त्यसैगरी, कम्पनीको आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरू माथि छलफल गरी साधारणसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ ।

सो कम्पनीले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ विदेशी लगानीसमेतबाट स्थापना भई पूर्ण क्षमतामा सञ्चालनमा रहेको होङ्शी शिवम् सिमेन्टको उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । यस उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जलविद्युत परियोजनाहरुमासमेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधीकरणका योजनाहरू अगाडि बढाइएको छ ।

स्मरण रहोस् उक्त कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरू सर्वसाधारणहरूलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दर्ता गरिसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १२ : १६ बजे