ग्रामीण सडकमा जताततै पहिरो

पशुपतिनगर(इलाम) । लागताको वर्षाका कारण इलामका अधिकांश ग्रामीण सडक अवरुद्द भएका छन् । लागतारको वर्षाका कारण पहिरो झरेपछि ग्रामीण सडक अवरुद्द भएका हुन् ।

पहिरोका कारण माइजोगमाई गाउँपालिकाको नयाँबजार–शनिश्चरे सडकमा पहिरो झरेपछि सडक अवरुद्द भएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो । गाउँपालिका भएर इलाम सदरमुकाम जाने सडकका ठाउँठाउँमा पहिरो झरेको छ ।

सूर्योदय नगरपालिकाको पशुपतिनगर भएर भारतीय सीमावर्ती बजार मानेभञ्ज्याङ जाने सडक पहिरोका कारण अवरुद्द भएको छ । सूर्योदय वडा नम्बर २ का वडाध्यक्ष डिक बम्जनका अनुसार उक्त सडकमा गएरातिदेखि पहिरो झर्न थालेपछि सडक अवरुद्द भएको हो । मानेभञ्ज्याङ बजार नेपालीले विभिन्न कृषिजन्य उत्पादन बिक्री गरी खाद्यान्न लगायतका वस्तु आयात गर्ने मुख्य बजार रहेको छ ।

झरीसँगै पहिरो खस्दा इलाम नगरपालिकाको बिब्ल्याँटे, बामु सडक अवरुद्द भएको छ । सुलुबुङ स्थित माबु हाइड्रो छेउमा पहिरो गएका कारण सडक अवरुद्द भएको प्रहरीले जनाएको छ । इलामकै रोङ गाउँपालिकाको हर्कटे रम्भ्याङ सलकपुर बाहुनडाँगी सडक पहिरोका कारण अवरुद्द भएको छ ।

माई नगरपालिकामा स्थानीय सेतु खोलाले बगाएका ६८ वर्षीय मैतबहादुर लिम्बुलाई खोलाले बगाएको छ । खोलाले बगाएका राईको स्थानीय र प्रहरीले उद्दार गरी उपचार प्रादेशिक अस्पताल झापा लगिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनु भयो ।

हिउँदमा डोजर लगाएर निर्माण गरिएका जिल्लाका अधिकांश सडकमा पहिरो गएको छ । ग्रामीण सडक अवरुद्द भएपछि सवारीका साधन संचालन नहुँदा स्थानीयलाई आवातजावतमा कठिनाई भएको छ । ग्रामीण सडक अवरुद्द हुँदा किसानले उत्पादन गरेको दूध र सागसब्जी बजारसम्म लैजान समस्या हुन थालेको छ ।

मेची राजमार्गको माईखोला सडकखण्ड समेत लगातार वर्षाका कारण जोखिममा छ । जीर्ण बनेको सडकमा यातायत सञ्चालनमै समस्या भएको सवारी चालक रामु भट्टराईले जानकारी दिनुभयो ।

लागताको वर्षाका कारण जिल्लाका मुख्य बजारसमेत सुनसान भएका छन् । वर्षाका कारण जिल्लाको माङसेङ गाउँपालिकाले १३ गते सम्मलाई विद्यालय बन्द गरिसकेको छ । अन्य पालिकाका धेरै विद्यालयमा वर्षाका कारण पठनपाठन स्थगित गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ४ : १८ बजे