काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढेको छ । यसअघि अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा भाग नलिएका तीनजनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्न गठित सिफारिस समितिले पुनः सूचना निकालेर असोज १८ गते बिहान ८ बजे बोलाएको छ ।
यसअघि नेपाल स्टक एक्सचेन्ज–नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण –तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जिबी चापागाईंले दुई पटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए ।
तीनजानाकै कारण बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ भएको थियो । यसअघि सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक कार्ययोेजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया थाल्न समितिलाई निर्देशन दिएको थियो । तर, सरकार परिवर्तन भएसँगै सन्तोषनारायणले सर्वाेच्च अदालतमा रिट हालेका थिए ।
सर्वाेच्चले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तरिम आदेश दिएको थियो । यहीअनुसार सर्ट लिस्टमा परेका पाँचजना मध्यबाट नै अध्यक्ष छनोट गर्न समितिले पहल गरेको छ ।
प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार ११ : १५ बजे
प्रतिक्रिया