झ्याप्लेखोलाबाट २५ शव निकालियो

उँधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान् पर्व उँधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले उँधौली पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भूभागमा ठुलो सङ्ख्यामा बसोबास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उँधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । 

किरात समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने र यो समयमा लेकबाट घरपालुवा बस्तुभाउ लिएर बेँसीतिर बसाइ सर्ने समय भएको सङ्केतका रूपमा लिइन्छ । 

साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा उक्त पर्व मनाउने चलन छ । यस पर्वमा परम्परागत भेषभूषा लगाएर किरात दाजुभाइ तथा दिदीबहिनीले सार्वजनिक रूपमा भेला भई परम्परागत एवं मनमोहक साकेला नृत्य तथा गीत प्रस्तुत गर्ने चलन छ । 

“भूमिको श्रद्धासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नका लागि भगवान्लाई धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थनासमेत गर्ने चलन छ”, प्रधानमन्त्री देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “यसले किरात सम्प्रदायमा आफ्नो मातृभूमिप्रतिको अगाध प्रेम र देशभक्तको भावना रहेको दर्साउँछ । किरातहरू आफूलाई भूमिका सन्तान मान्छन् र यस दिनलाई पवित्र भूमि पूजाका रूपमा पनि लिइने सन्देशमा उल्लेख छ । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ४३ बजे