खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

गिग इकोनोमी र अबको दिशा

यस पंक्तिकारले पीएचडी तहको अनुसन्धान जारी राख्दै गर्दा काठमाडौँका सडकमा पहिलोपटक मोटरसाइकल पछाडि सानो बाकसमा PHD लेखेर मानिस हुँइकेको देख्दा जिज्ञासा र कौतुहलताले त्यो सवारी साधन ओझेल नपरुञ्ज्याल आँखा दौडाएको थियो । पछि थाहा भयो, त्यसको पुरा रूप ‘पिजा हट डेलिभरि’ रहेछ । तत्कालै नभुलिने र सजिलै सम्झिने भएकाले अहिले विश्वमा प्रख्यात खाना पिजाको व्यापार प्रवद्र्धन गर्न यसरी नाम राखिएको हो भन्ने कुरा स्पष्ट छ । पिजा हट सन् १९५८ मा स्थापित अमेरिकन चेन रेष्टुरेन्ट हो । नेपालमा यस पिजाको सुरुवात सन् २००९ देखि भएको पाइन्छ । मोटरसाइकलमा पीजा बोकेर माग भएका ठाउँमा पु¥याउने व्यक्ति ‘गिग वर्कर’ हो । डिजिटल प्लाटर्फ (मोबाइल आदि) को पहुँच भएको पिजा उत्पादक, गिग वर्कर र उपभोक्ता गिग इकोनोमिमा आबद्ध भएका व्यक्तिहरू हुन् । यसरी डिजीटल प्लाटर्फमा आबद्ध भएका श्रमिकहरू अहिले विश्भर छरिइसकेका छन् र यो क्रम बढ्दो छ ।

आधुनिक वैज्ञानिक आविश्कारले प्रविधिको विकास तथा विस्तारलाई तीब्रता दिएसँगै आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अनेकौँ आयामका ढोकाहरू खुलेका छन् । केही नयाँ ‘आइडिया’ सहित जोसँग नयाँ सूचना प्रविधिबारे जानकारी छ र उसलाई त्यसको उपयोग गर्नसक्ने क्षमता छ भने उसले एकठाउँमा बसीबसी उद्यमि बन्ने, अरुलाई रोजगारी दिने र सेवाग्राहीको माग पनि पुरा गर्ने अवस्था सिर्जना भएको छ । ‘डिजिटल प्लाटर्फ’ आज एउटा यस्तो माध्यम भएको छ जसका कारण संसारका करोडाँै मानिसहरू गिग इकोनोमी बाट लाभान्वित बनिरहेका छन् ।

गिग इकोनोमीलाई ‘प्लाटफर्म पुँजीवाद’को रूपमा समेत व्याख्या गर्ने गरिएको छ । यस दृष्टिकोण अनुसार गिग श्रम उपलब्ध गराउने कम्पनीहरूले लगानीकर्ताहरूको लागि नाफा अधिकतम् गर्न, श्रमको लागत एवम् सर्तहरू नियन्त्रण गर्न र रोजगारदाताहरूका शक्तिको रक्षा गर्न रचना गरिएको हो भन्दछन् । विश्वव्यापीरूपमा आएका तथ्यहरूले गिग वर्करहरूको सामाजिक सुरक्षाको बारेमा राज्यले उचित ध्यान दिन नसकेका गुनासाहरू व्यापक मात्रामा आइरहेकै छन् । तर यति हुँदाहुँदै प्रश्न गर्नैपर्ने हुन्छ कि, अब यस गिग इकोनोमिको प्रभावबाट अलग हुन सकिएला ? संभव छ जस्तो लाग्दैन । त्यसैले यथोचित नियमन नै अहिलेका लागि उपयुक्त मार्ग हुनसक्दछ ।

मानव संसाधन विज्ञका अनुसार ज्याज (Jazz) संगीतकारहरूले पहिलो पटक सन् १९१५ मा श्रम प्रदान गर्नका लागि गिग (Gig) शब्दको प्रयोग गरेका थिए । अंग्रेजी शब्द Gig (गिग) का अर्थहरू अनेकाँै छन् । तर पनि मुलतः यसका दुईवटा परिभाषा अलि बढि प्रचलनमा छन् । एउटा, यो यस्तो सःशुल्क निर्वाह गरिने अस्थायी भूमिका हो जो संगीतकार वा कलाकारले गर्दछ, अर्को, कुनै काम जो विशेषगरी पारिश्रमिक लिएर अस्थायी रूपमा गरिन्छ । यी दुबै अर्थहरूको सार खिच्दा गिग भनेको एउटा यस्तो क्रियाकलाप हो जो पैसा वा मूल्य लिएर केही बेर, घण्टा वा दिनभित्र सम्पन्न गरिन्छ, यो स्थायी भने हुँदैन । त्यसैले भन्न सकिन्छ कि गिग अर्थतन्त्र एउटा यस्तो आर्थिक प्रणाली हो जसले सूचना प्रविधिको माध्यमबाट कामदार, कम्पनी र उपभोक्तालाई एउटै संयन्त्रमा वा भनौँ प्लाटफर्ममा जोड्दछ । यसलाई अनौपचारिक अर्थतन्त्रको रुपमा पनि लिन सकिन्छ ।

हाम्रो देशमा अहिले दैनिक चर्चामा आइरहने ‘पठाओ’ कम्पनीको आर्थिक क्रियाकलापलाई गिग अर्थतन्त्रको एउटा एकाइको रूपमा लिन सकिन्छ । यस कम्पनीले पठाओको एप बनाएको छ, उपभोक्ताले अस्थायी रूपमा कम्पनीसँग जोडिएका सवारी चालकसँग खाना मगाउन, बाइक वा गाडी चढ्न वा विभिन्न सामान झिकाउन मोबाइलको एपमा गएर अर्डर गर्छ, सेवा पाउँछ र सो बापत मोबाइलबाटै मूल्य तिर्दछ । यहाँका धेरै बेरोजगार युवा एवं प्रौढ तथा प्लसटु स सो भन्दा माथि अध्ययनरत युवाहरु पठाओ र टुटलजस्ता कम्पनी मार्फत गिग इकोनोमिमा जोडिएका छन् ।

नेपाली कामदारहरूले डिजिटल गिग अर्थतन्त्रका विभिन्न क्षेत्रमा भाग लिन्छन् जसमा फिभर, अपवर्कजस्ता दर्जनौँ प्लाटफर्महरू समावेश छन् जहाँ स्तन्तत्र श्रमिकहरूले ग्राफिक डिजाइन, वेब विकास, अनलाइन परामर्श र अनुवाद कार्यहरू गरिरहेका छन् । यहाँ कम्पनी, निश्चित अवधिभर काम गर्ने सवारी चालक र उपभोक्ताबीच सम्पन्न हुने ‘डिजिटल प्लाटफर्म’ को सम्झौताले आर्थिक कारोबार हुन्छ, त्यो पनि एउटा एपको माध्यमबाट । यही हो गिग अर्थतन्त्र । यदि संसारमा सूचना लिने दिने प्रणाली इन्टरनेट र मोबाइल फोन वा संयन्त्रको आविश्कार भएको थिएन भने गिग अर्थतन्त्र पनि विकास हुने थिएन । किनकी यसले तत्क्षण कम्पनी, सेवा दिने व्यक्ति वा श्रमिक र सेवाग्राही वा उपभोक्ताबीच सम्पर्कको जालो बनाउँछ र आर्थिक क्रियाकलाप गर्न मद्दत पु¥याउँछ ।
हालैका वर्षहरूदेखि गिग अर्थव्यवस्थाको प्रभाव कुनै न कुनै रूपमा सर्वत्र पर्दै गएको छ । यस नवीन आर्थिक प्रणालीको प्रभाव मानिसको दैनिक जीवनमा सघनरूपमा परिरहेको छ । घर, टोल, गाउँ र शहरसम्म यो गिग अर्थतन्त्र विकसित भइरहेको छ । गिग अर्थतन्त्रमा डिजिटल प्लेटफर्महरूले राइड सेयरिङ सेवा, खाना वा प्याकेज डेलिभरी सेवा, शिल्प र हस्तनिर्मित वस्तु, माग भए बमोजिमका श्रम र मर्मत सेवा, सम्पत्ति, घर, ठाउँ आदि भाडामा लगाउने कार्यहरू गर्दै आएका छन् । रोजगारी, पेशा, समाज, ट्याक्सी चालकदेखि फुडडेलिभरि चालकसम्म यसको प्रभाव बढ्दो छ ।

मुलतः डिजिटल युगसँगै गिग अर्थव्यवस्था सन् १९९० को अन्त र २१ आँै शताब्दीको सुरुवातमा संसारभर विस्तारित हुँदै गएको छ । एक आँकडाका अनुसार विश्वमा ४३ करोड बढि मानिसले गिग इकोनोमीमा सामेल हुने मौका पाइसकेका छन् । स्वरोजगार र ग्रामीण उद्यमशीलतालाई प्रोत्साहित गर्दै देङ सियाओपिङको आर्थिक सुधारको परिणामस्वरूप सन् १९८० को दशकमा गिग अर्थतन्त्रको विकास सुरु भएको थियो । चीनमा २० करोड श्रमिकहरू गिग अर्थतन्त्रको अङ्ग बनिसकेका छन् । दक्षिणी मित्रराष्ट्र भारतमा सन् २०३० सम्ममा १० लाख गिग वर्कर हुने बताइन्छ । बेलायतमा १५ लाख बढी जनसंख्या गिग अर्थतन्त्रमा जोडिएको छ भने ३६ प्रतिशत अमेरिकी श्रमिकहरू गिग अर्थतन्त्रमा संलग्न छन् र यस देशका ३३ प्रतिशत कम्पनीहरूले व्यापक मात्रामा गिग कामदारहरूको प्रयोग गरिरहेका छन् ।

सन् २०१९ मा देखा परेको कोभिड–१९ को जीवाणुले तीन वर्षमा ७० करोड बढि मानिस संक्रमित बनायो भने ७० लाख भन्दा बढिको ज्यान लियो । यसको प्रभावमा परेर धेरैको घर उजाडियो, बेरोजगार भए, गरिबीको चक्रमा धकेल्यो, प्रायः सबै मुलुकको अर्थतन्त्रलाई सिथिल बनायो । तर यस महामारिले गिग अर्थतन्त्रको विकासमा भने सकारात्मक भूमिका खेल्यो । सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले ‘डिजीटल प्लाटर्फ’ मार्फत गिग इकोनोमिमा अझ बढि मानिसलाई जोड्यो । समस्याले केही नयाँ र सकारात्मक पक्षको पनि विकाश गरिरहेको हुन्छ भन्ने कुरा यस घटनाले पनि बताउँछ ।

गिग अर्थतन्त्रको उदयले परम्परागत रोजगारीको विकल्प प्रदान गरेर विश्वभरका श्रम बजारहरूलाई रूपान्तरण गरिरहेको छ । धेरै अनलाइन प्लाटफर्महरूले साना र ठूला उद्यमहरूलाई विशेष सीप र लचिलोपन भएका कामदारहरूलाई पहुँच प्रदान गरेका छन् । प्राविधिक परियोजना, व्यावसायिक सेवा, भौतिक डेलिभरी र सवारी–साझेदारी जस्ता सेवाहरू डिजीटल प्लाटफर्मले पूरा गर्न सक्छन् । शारिरिक वा मानसिक श्रममा सजिलै पहुँच, लचिलो काम गर्ने घण्टा र राम्रो आम्दानी मार्फत कामदारहरूले गिग अर्थतन्त्रबाट लाभ उठाउँछन् र रोजगारदाताहरूले अस्थायी गिग कामको साथ मानक रोजगारीलाई पूरक वा प्रतिस्थापन गरेर लागत बचत गर्छन् ।

अफ्रिकी विश्वविद्याल युनिभर्सिटी अफ केप टाउनका अनुसन्धानकर्ता पित्सो सिबोलेनसहितका विशेषज्ञहरू भन्छन्— डिजिटल गिग कार्य सामाजिक–आर्थिक विकास र बेरोजगारी उन्मूलन सम्भावित मार्गको रूपमा महत्वपूर्ण हुँदै गइरहेको छ । यस प्रक्रियाको प्रशंसित लाभहरूको बावजुद विकासोन्मुख देशहरूले डिजिटल श्रमको सम्मान गर्नसकिरहेका छैनन् । केही चुनौतीहरू सीमित पहुँचको अभावसँग सम्बन्धित छन् । इन्टरनेटमा पहुँच, सीमित पूर्वाधार, कम शिक्षा र प्लाटफर्मको चेतनाको अभावले समस्याहरू उत्पन्न भएका छन् ।

अनुसन्धानकर्ता मनिषा पौडेल इन्टरनेशनल रिसर्च जर्नल अफ इकोनोमिक्स एण्ड म्यानेजमेन्ट स्टडिज(अप्रिल २०२४) मा लेख्छिन्— नेपालको गिग अर्थतन्त्र अझै प्रारम्भिक अवस्थामा छ, यसले सन् २०१६ देखि तीव्र वृद्धिको अनुभव गरेको छ । विशेष गरी, नेपालमा ४३ प्रतिशत अनलाइन स्वतन्त्र रोजगारीको प्रतिशत सफ्टवेयर र प्रविधिको विकासमा काम गर्नेहरूलाई प्राप्त छ ।
गिग इकोनोमि विस्तारित भएसँगै कम्पनीहरूले गिग श्रमिकहरूलाई श्रमको उचित मुल्य, सेवा र सुविधा दिन कन्जुस्याईँ गरिरहेका तथ्यहरू सार्वजनिक भइरहेका छन् । अष्ट्रेलियामा सार्वजनिक नीति अनुसन्धान गर्ने मकेल इन्ष्टिच्युटले प्रकाशित गरेको ‘टफ गिग वर्कर्स पर्सपेक्टिभ अन द गिग इकोनोमि’ मा भनिएको छ— अष्ट्रेलियामा न्यूनतम ज्याला २१.३८ डलर प्रति घण्टा वा ८१२.६० प्रति हप्ता हो । कम्तिमा ४५ प्रतिशत यातायात गिग अर्थतन्त्रका कामदारहरूले न्यूनतम ज्यालाभन्दा कम कमाएको बताएका छन् । लामो समय काम गर्ने चालकहरूको अवस्था झन् खराब छ । त्यसमा ४० घण्टाभन्दा बढी काम गर्नेहरूमध्ये कम्तीमा ६६ प्रतिशतले न्यूनतम ज्यालाभन्दा कम पाउँछन् । यो बाहेक अरु मुलुकका कामदारहरूलाई पनि थोरै ज्यालामा काम लगाइरहेको समाचार आइरहेकाले राज्यले यसको नियमन गर्नुपर्ने अवस्था टड्कारो देखिएको छ ।
नेपालमा अहिलेका कानून र नीतिहरूले गैर–परम्परागत उद्योग व्यवसायको रूपमा रहेको गिग इकोनोमिको प्रवद्र्धनमा सहयोग पु¥याउन सकेका छैनन् । नेपालको गिग अर्थतन्त्र अपेक्षाकृत नयाँ छ र तीव्र गतिमा विकास भइरहेको छ । सार्वजनिक यातायातका लागि निजी सवारीसाधन प्रयोग गर्नु गैरकानूनी भएको भन्दै विगतमा ट्राफिक अधिकृतले मोटर सवारी तथा यातायात व्यवस्था ऐन उल्लङ्घन गरी टुटल र पठाओ चालकलाई जरिवाना गरे । जनताको विरोध र असन्तुष्टिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले टुटललाई कारबाही नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनु परेको थियो ।

नयाँ रोजगारी र अवसरहरू देखा पर्दै जाँदा सरकारले रोजगारीका अवसर वा नवप्रवर्तनलाई बाधा नपु¥याउने र बदलिँदो व्यापारिक परिदृश्यलाई निरन्तरता दिने कानुनहरू संशोधन गर्न आवश्यक छ । रोजगारीमा पहुँच, उचित आम्दानी र लचिलो तालिका भएकाले गिग अर्थतन्त्र विश्वव्यापी रूपमा लोकप्रिय हुँदै गइरहेको छ । यस नयाँ किसिमको आर्थिक क्रियाकलापलाई अब राज्यले बेवास्ता गर्न मिल्दैन बरु राम्रोसँग नियमनसहित रोजगारी प्रवद्र्धन, इलम तथा उद्यमशीलता विकास, वस्तु तथा सेवाको विक्री वितरण र अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नै पर्दछ । यसबाट जोखिमयुक्त वैदेशिक रोजगारीमा जान बाध्य युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरेर आर्थिक प्रणालीलाई टेवा दिन मद्दत मिल्नेछ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  २ : ०४ बजे