आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

खल्लागाडमा एसएमएल हाइस दुर्घटना हुँदा आठ जना घाइते

कालीकोट । कर्णाली राजमार्गको तिलागुफा–५ खल्लागाडमा एसएमएल हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

१५ जना सवार गाडी ओरालो सडकमा ब्रेक नलाग्दा मोड्ने क्रममा सडकमै पल्टिएको छ । घाइते हुनेमा सुर्खेत जाँदै गरेका सिंजा–३ का ५२ वर्षीय धनमाने सार्की, सोही ठाउँका ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, सोही गाउँकी ६४ वर्षीया मनकन्या चौलागाई, जुम्ला कनकासुन्दरी ६ का ३९ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए ।

कालिकोटको तिलागुफा नगरपालिका–८ का तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाई र पूर्णप्रसाद चौलागाईं पनि घाइते भएको स्थानीय तथा प्रत्यक्षदर्शी मनमोहन पाण्डेले बताए । घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरोले क्षत–विक्षत गरेर कर्णाली राजमार्ग जोखिमपूर्ण अवस्थामा छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ५ : ४३ बजे