झ्याप्लेखोलाबाट २५ शव निकालियो

पढ्ने अवसर नपाएको छोरा !

काठमाडौँबाट फिनल्याण्ड आउन जहाज चढेँ । मेरो सिटको छेउमा एक युवक बसिरहेका थिए । मेरो हेण्ड लगेज माथि राख्न स्वतःस्फूर्त सहयोग गरे । वैटिङ रुममा केही कलिला युवाहरू मलिन अनुहार लिएर घरमा फोन गरिरहेका, कसैका आँखा राता राता भएर रसाइरहेका, कसैले ‘केही चिन्ता गर्न पर्दैन आमा, म पुगेर फोन गर्छु है’ भन्दै गरेका, कसैले श्रीमतीलाई सम्झाइरहेका सुनेर—देखेर मन भारी भएको थियो र कामना गरिरहेकी थिएँ, यी प्यारा छोरा—छोरीको यात्रा सफल होस्, जीवन सुरक्षित र सहज होस्, कसैले दुरुपयोग, शोषण र अपमान नगरोस् । पक्षपात, हिंसा, अपमान  र यातनाको गन्ध पनि भोग्न नपरोस् । 

क्षमता अनुसारको काम जहाँ गरे पनि फरक पर्दैन । संसार देख्ने र बुझ्ने मौका मिलेको छ, तर मानवीय व्यवहार गर्ने समाज होस् । यिनीहरूका विवशता र बाध्यतालाई बुझेर मानवताको कदर गर्ने समाज होस् । परिवारले दिने मायाबाट वञ्चित भए पनि जहाँ पुगे पनि सुरक्षित र सहज जीवन होस् भन्दै कामना गरिरहेकी थिएँ । सुकेका ओँठ लिएर फोनमा व्यस्त बाबु नानीहरूका कुरा र अनुहारले मेरो मनमा चोट. पुगेको थियो मुटु भरिएको थियो । कोही अति नै कम उमेरका देखिन्थे गन्तव्य कहाँ होला ? जीवन कस्तो होला ? कस्ता मानिसको समीपमा पुग्लान् ? जस्ता प्रश्न उठिरहेका थिए र कामना गरिरहेकी थिएँ देश, धर्म, आकृति, रङ्ग, राजनीतिक आस्था र अन्य क्षमताभन्दा माथि उठेर मानवताको रक्षा र सम्मान गर्ने समाजमा पुगुन् । कसैको यातना र अपमान सहन नपरोस् । अध्ययन र क्षमता अनुसारको परिश्रम गरी यथासमय सकुशल आफ्नो प्यारो परिवारमा फर्कन पाउन् । 

यस्तै सोच्दै जहाजमा पसेकी थिएँ । जहाज दुबई को लागि उड्दै थियो । दुबईमा ४ घण्टा बसेपछि म हेल्सिन्की उड्न थियो । मेरो सीट झ्यालतिरको थियो । बीचमा एक युवक बसेका थिए । मैले हेण्ड लगेज यसो उठाएर माथि राख्न खोजेँ, उनी जुरुक्क उठेर ‘म राखिदिन्छु आन्टी’ भन्दै राखिदिए,  मानौँ उनी चिरपरिचित आफन्त नै हुन् ।  

जहाज केही ढिलो गरी उड्यो । नेपालको कार्यशैली, प्रणाली र राजनीतिक अस्थिरताबारे कुरा भयो । उनी अध्ययनको लागि कतै जाँदैछन भन्ने मलाई लागेको थियो । अति शिष्ट स्वभावका ती युवकले भने ‘पढ्ने ठुलो चाहना थियो तर पाइनँ । नौ वर्ष भयो, दुबईमा सुपरभाइजरको काम गर्छु । सानो उमेरमै काममा लाग्न बाध्य भएँ किनकि बाबाले आमालाई निकै दुःख दिनुभयो । रक्सी खाएर कुट्ने—पिट्ने गरेकोले म ५ वर्षको हुँदा सम्बन्ध विच्छेद गर्नुपर्‍यो । आमाले निकै परिश्रम गरेर हामीलाई हुर्काउनुभयो । बाबाले अर्को विवाह गर्नुभएको छ । आमाले पनि अर्को विवाह गरेको भए हामी सडकमा हुने थियौँ । आमाको दुःख देखेर पढेँ, अनि कमाउन हिँडे । हामी तीन जनाको भविष्यको लागि आमाले एक्लै निकै दुःख गर्नुपर्‍यो । बाबाको माया र सहयोग केही पाउन सकिएन ।’ यति बेलिबिस्तार उनले नरोकिइकन लगाए ।  

सन्तान जन्माएपछि जिम्मेवार नहुने धोकेबाज र मूर्खहरूले समाजमा कष्ट निम्त्याइरहेका छन् र बढाइरहेका छन् भन्ने लाग्यो  । पढ्ने क्षमता र चाहना हुँदाहुँदै अध्ययनको अवसरबाट वञ्चित ती अनुशासित युवकलाई देखेर मेरो भारी भएको मुटुमा फेरि थप ढुङ्गा थपिएको अनुभूत गरेँ ।

 

(लेखक समाज शास्त्री हुनुहुन्छ ।)

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : २५ बजे