स्थानीय तह उपनिर्वाचन २०८१

चुनावमा खुट्टै टेक्न नसक्ने एसको हैसियतबिनै चुरीफुरी

काठमाडौँ । नेपालीमा एउटा उखान छ – हाती भन्दा हल्ला ठुलो । अहिले नेपालको राजनीतिमा त्यो उखानसँग मिल्ने ठ्याक्कै एउटा घटना देखिएको छ – त्यो हो नेकपा एसको हैसियत बिनाको चुरिफुरी ।

चुनावमा प्रतिस्पर्धा गर्न सक्ने पार्टीहरू आउने मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि चटपटाएका छैनन् । चुनावमा राम्ररी खुट्टा टेकेर उभिन नसक्ने एस भने अहिले तागत बिनाको फुर्तीफार्तीमा देखिएको छ। जुन पार्टी सबैभन्दा कमजोर छ त्यही पार्टीले स्थानीय तहको उपनिर्वाचनमा बढी हल्ला सुरु गरेको छ। हैसियत नै गुमाइसकेको माधवकुमार नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उपनिर्वाचनको तयारी गर्ने निर्णय गरेर दुनियाँलाई हँसाएको छ ।

गएको निर्वाचनमा देशभरि तालमेल गर्दा पनि कांग्रेस र माओवादी केन्द्रको भोट पाएर राष्ट्रिय पार्टी बन्न नसकेको समाजवादी यतिखेर हात्तीभन्दा हल्ला ठुला भन्दै स्थानीय तहको उपनिर्वाचनको तयारीमा जुटेको हो । गएको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रसँग तालमेल गर्दा पनि राष्ट्रिय पार्टी बन्न सकेको थिएन । तालमेल गर्दा नेकपा (एस) ले १० सिट मात्र ल्याएको थियो ।

नेकपा (एस) ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ । केही समय पहिले इलाम र बझाङमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एसको जमानत जफत भएको थियो।

सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले उपनिर्वाचनको कुनै तयारी गरेका पाइएको छैन । अब आउने मंसिरमा हुने निर्वाचनको मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै हुने आकलन गरिएको छ । उपनिर्वाचनमा तालमेल नगर्ने एमाले र कांग्रेस दुवैले नीति लिएका छन् । उपनिर्वाचनमा तालमेल नगरेपछि पार्टीको वास्तविक हैसियत पनि देखिने धेरैको बुझाइ रहेको छ ।
एमाले र कांग्रेस स्रोतका अनुसार ती पार्टीले चाँडै नै निर्वाचनको तयारी गर्ने बताइएको छ ।
२०७९ को निर्वाचनमा स्थानीय तहको अवस्था
स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुखमा कांग्रेस १४१, एमाले ८३, माओवादी २५, नेकपा (एस) १२ मा विजयी भएका थिए । उपप्रमुखमा एमाले ११५, कांग्रेस ११०, माओवादी केन्द्र ३३ तथा गाउँपालिका अध्यक्षमा कांग्रेस १८८, एमाले १२३ र माओवादी केन्द्र ९६ जितेका थिए । नेकपा (एस) ले उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कुनै सिट जितेको छैन ।

३० स्थानीय तहका ३५ सिटमा उपनिर्वाचन हुने
स्थानीय तहमा ३४ जनप्रतिनिधिका सिट रिक्त छन् । निधन, विदेश पलायन र विभिन्न कारणले ३० स्थानीय तहमा ३५ जनाको जनप्रतिनिधि सिट रिक्त रहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई र उपाध्यक्ष तीन मुख्य पदमा निर्वाचन हुनेछ । कीर्तिपुर नगरपालिकाको प्रमुख सहित दुईवटा वडाध्यक्ष रिक्त रहेका छन् ।

जाजरकोट जिल्लाको नलगाड नगरपालिकाको उपप्रमुख, दैलेखको महावु गाउँपालिकाको अध्यक्ष, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दोेलखा जिल्लाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष, बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा र हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष पदमा निर्वाचन हुँदै छ ।

यस्तै काठमाडौँ महागरपालिका वडा नंं १६ मा वडाध्यक्ष र कीर्तिपुर नपाका वडा नं. १ र ४ वडाध्यक्ष पनि रिक्त रहेको छ ।

आयोगको तयारी
निर्वाचन आयोगले मंसिरमा चुनाव गर्ने तयारी गरेको छ । अहिले ती रिक्त स्थानीय तहमा मतदाता नामावली संकलनको काम आयोगले गरिरहेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले मंसिरमा उपनिर्वाचन गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । उहाँले निर्वाचन सामग्री सब रहेकाले मिति तोक्नासाथ निर्वाचनको तयारीमा जुट्ने बताउनुभयो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  २ : ४१ बजे