साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भैरहवा भन्सारले समात्यो ट्रकसहित २१० बोरा चिनी

भैरहवा । बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर गएसँगै तस्करीको सामान बरामद भएको छ । आईजीपी नै रुपन्देही आउने भएपछि केही दिन शान्तभएको तस्कर गतिविधि गएसँगै पुनः सुरु भएको छ । 

आइजीपि गएकै रातीबाट तस्करीको काम सुरु भएको बुधबार राती बरामद भएको अवैध सामानले पुष्टि गर्छ । हुन त भैरहवा भन्सार कार्यालय तस्करहरूको जंजिरलाई तोड्न प्रयासरत छ । नियमित रूपमा कार्यालयले संस्थागत तस्करी नियन्त्रणमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ । भन्सार नेतृत्वले सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सहयोगमा अवैध वस्तु नियन्त्रण गर्दै आएको छ । भन्सारलाई राष्ट्रिय अनुसन्धान र प्रमुख जिल्ला अधिकारीले पनि सहकार्य गर्दै अभियानमा सहयोग गरेका छन् ।

लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।

बुधबार आइजिपीको सम्बोधनमा पनि सेटिङ भत्काउने, वर्षौ एउटै युनिटमा रहने प्रहरीलाई लखेट्ने, प्रहरीसँगै परिवारको बैंक खाता चेक गर्ने, ट्राफिक प्रहरीको कार्यमा शंका रहेको समेतको भाषण गर्दे रोक्न निर्देशन गरेका थिए । 

विशेष सूचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी नेपाल तर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो । ट्रक चालक मायादेवी गाउँपालिका २ तुलसीपुरका शिव कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रमुख गौतमले बताए । नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा ६ लाख ३० हजार मूल्य बराबरको चिनी र ट्रक को १९ लाख गरी १६ लाख ३० हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो । 

चालकले सोधपुछको क्रममा चामल रहेको बयान दिए पनि सामान चेकजाँच गर्दा चिनी फेला परेको छ । उक्त सामान झुलनीपुरबाट लोड गरी पोखरा लैजाँदै गरेको सोधपुछबाट खुलेको छ उनले भने । सो क्षेत्रबाट पछिल्लो समय निरन्तर सामान भित्रिरहेको बरामद सामानबाट पुष्टि भइरहेको छ । 

सर्वसाधारणका लागि घरायसी सामानमा निकै कडा गरिए पनि नेपालमा संस्थागत रूपमा तस्करीको गिरोह छ भन्ने भैरहवा भन्सारको पछिल्लो सफल अभियानले पुष्टि गरेको छ । सामान जति नियन्त्रणमा आए पनि तस्करहरू भने तस्करी गर्न रोकेका छैनन्, यसरी नरोकिनुमा ठूलो समूहको संलग्नता र सेटिङमै हुने गरेको देखिन्छ उनीहरूमा ठूलो आट छ । स्रोतका अनुसार आइजीपी रुपन्देही हुँदा केही समय तस्करी रोकिएको हो, त्यसपछि काम सुरु हुने तस्करहरू बताउँछन् ।

एक साताअघि पनि सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रक सहित २ सय १० बोरा चिनी बरामद गरेको थियो । लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट सशस्त्र प्रहरी डण्डाको सहकार्यमा ती सामान बरामद भएका थिए । भैरहवा भन्सार कार्यालयले तस्करीलाई कुनै पनि हालतमा सफल हुन नदिने प्रण गरेको छ, । विशेष सूचनालाई आधार बनाई भन्सारले स्रोत साधन र जनशक्ति अनुसार सक्रिय रूपमा निगरानी बढाउँदै रातदिनको गस्ती र सूचनाको सूक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको छ  । 

पछिल्लो चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ । यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रिक सामानहरू विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्यांकले देखाउँछ । सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहुँ र चामल अवैध रूपमा भित्र्याई बैध बनाउने गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  १ : १६ बजे