काठमाडौं सचिव न्यौपानेसहित सयौँले त्यागे एस, सबैको एमालेमा फर्कने इच्छा

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का काठमाडौं जिल्ला कमिटी सचिव ध्रुवराज न्यौपानेले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी त्याग गरेको घोषणा गरेका हुन् । उनी काठमाडौं क्षेत्र नं ४ को राजनीतिमा बिशेष प्रभाव राख्ने युवा नेता हुन् । उनले पुरानै घर एमाले फर्कनका लागि एस परित्याग गरेका हुन् । चक्रपथसँग कुरा गर्दै न्यौपानेले आफ्नो पुरानो घर एमालेले उचित सम्मान दिए आफुहरु फर्कनका लागि तयार भएको बताए।

न्यौपानेले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यदिशा तथा दशौं महाधिवेशनसम्म आइपुग्दा यो पार्टी झनै दक्षिणपन्थी अवसरवादतर्फ अग्रसर भएको, नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको प्रधान समस्याको निरन्तरता यस पार्टीमा पनि देखिएको, व्यक्तिवादी चरित्र हावी भएको र पार्टी विभाजनको औचित्य पनि पुष्टि गर्न नसकेकाले पार्टी त्याग गर्नुपरेको उल्लेख गरेका छन् ।

त्यसैगरी सचिव न्यौपानेले नेकपा एसले नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय रहने क्रममा आम नागरिक र देशको हितमा काम गर्ने भनेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको कार्यदिशा तथा दशौं महाधिवेशनसम्म आइपुग्दा यो पार्टी झनै दक्षिणपन्थी अवसरवादतर्फ अग्रसर भएको, नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको प्रधान समस्याको निरन्तरता यस पार्टीमा पनि देखिएको, व्यक्तिवादी चरित्र हावी भएको र पार्टी विभाजनको औचित्य पनि पुष्टि गर्न नसकेको ठहर गरेका छन् ।

पार्टी विभाजनपश्चात् गठन भएको नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेर काम गर्दै आइरहेका न्यौपाने पार्टीमा काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय संयोजक हुँदै जिल्ला कमिटीको उपसचिव र हाल जिल्ला सचिवको जिम्मेवारीमा रहेका थिए ।
उनीसंगै नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।

त्यस्तै नेकपा एस परित्याग गर्ने अन्य नेता तथा कार्यकर्ताहरुमा बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई,सचिव बिमल लामा,जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ,भानु रिजाल,केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने,दिपेश थापा,कृष्णहरी खड्का,किर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा,महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ४ : ०८ बजे