साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विरहको तीज, बोझिलो तीज र अबको तीज

तीज २०८१ हाम्रो घर आँगनमा आइपुगेको छ । यो सांस्कृतिक पर्व प्राचीन समयदेखि नेपाली महिलाहरूले विशिष्ट तरिकाले मनाउँदै आएका छन् । जे–जसरी मनाइए पनि हरितालिका (तीज) हाम्रो सांस्कृतिक पर्व रहेकामा कसैको विमति छैन ।
समाज शास्त्रीय र विज्ञानसम्मत रूपमा समाज विकासको विश्लेषण गर्दा मातृसत्तात्मक नेपाली समाज पितृसत्तात्मकमा बन्न पुग्यो । पितृसत्तात्मक भएपछि क्रमशः महिलाहरूमाथि असमान व्यवहार सुरु भएको मानिन्छ । समाजमा सामन्तवादी चिन्तन र जडता बढ्दै गएपछि समाजमा महिला र पुरुषको बीच व्यापक रूपमा दूरी बढ्दै गयो । महिलाको पछौटेपन र चेतनाको कमीले गर्दा समाजमा महिला र पुरुषबीचको खाडल फराकिलो बन्दै गयो ।
समाजमा शिक्षा र प्रगतिशील चेतना अत्यन्तै कमजोर भएकाले रूढिवाद, अन्धविश्वास र यथास्थितिवाद हाबी हुनु स्वाभाविक थियो र हाम्रो समाजमा छोरी जन्मनुलाई समस्याका रूपमा परिभाषित गर्न थालियो । छोरीलाई अंशको हकदार बनाउने कुरा त परै जाओस् साक्षर पनि नबनाउने, पराई घरको नासो तथा बोझिलो वस्तुको रूपमा हेर्ने परिपाटीको विकास हुँदै आयो । यसैसँग बालविवाह, अनमेल विवाह र बहुविवाह जस्ता सामाजिक विकृतिहरू समेत बढ्दै गए ।
विवाहपश्चात् कर्कसा सासू, नन्द, आमाजूहरूको असजिलो व्यवहार र कतिपय अवस्थामा पतिको अपमानजनक र मति हराएको व्यवहार विवाहित महिलाका लागि कष्टकर दैनिकी बन्न थालेको थियो । दूरदराजमा विवाह गरिदिने र महिनौँसम्म भेटघाट नहुने बाध्यताले सन्चोबिसन्चोको खबरसमेत नपाउने भौगोलिक र सञ्चारको अभाव हुँदा विवाहित महिलाको तत्कालीन अवस्थाको अनुमान लगाउन सकिन्छ । महिलाका यिनै कारुणिक अवस्थालाई गीतको माध्यमबाट अभिव्यक्त गर्ने र रमाइलो गर्न ‘मनको वह’ पोख्ने अवसरका रूपमा यो सांस्कृतिक पर्वलाई लिने गरिन्छ ।
आफूले पाएको हन्डर, दुःख तथा समाजमा घटेका नरमाइलो घटनालाई गीतको माध्यमबाट पोख्ने चलन रहिआएको छ । यति मात्र होइन, हिजोको कोसौँ भौगोलिक दूरी, सञ्चारको अभाव र यातायातका कठिनाइको अवस्थामा वर्षको एकपटक माइती र चेलीबीच भेटघाट गराउने एक पुनर्मिलन हुने अवसरका रूपमा पनि यस पर्वलाई लिन सकिन्छ ।
पारिवारिक प्रेम बढ्ने, एकै ठाउँमा भेला भएर मिठोमसिनो परिकार खाने, आफ्ना सुखदुःखका कुराहरू गर्ने, विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायुको कामना गर्ने र अविवाहितहरूले असल पति पाउने कामनासहित व्रत बस्ने प्रचलनहरू परम्परादेखि चलिआएको छ । हरितालिका पर्व मनाउने क्रममा अझै पनि धरै कट्टरतावादी सोचहरू हाम्रो समाजमा विद्यमान छन् । व्रतका नाममा पानीसमेत नपिउने चलनले कतिपयको जीवनमा अप्रिय घटनाहरू भएको पनि सुनिन्छ ।
समय, परिस्थिति र सामाजिक मान्यताहरूमा धेरै नै परिवर्तन भएको छ, अझै हुँदै जानेछन् । यसलाई स्वाभाविक मान्न सकिएला । हरितालिकाका सन्दर्भमा पनि हिजो र आजमा धेरै नै भिन्नता महसुस गर्न सकिन्छ । सूचना, प्रविधि र यातायातको विकासले हिजोका असहजताहरू आज क्रमशः सहजतामा परिवर्तन भइरहेका छन् । सामाजिक सञ्जाल, टेलिफोन, मोबाइल फोनको विकासले हरेक दिन आफ्ना परिवारका सदस्यहरूसँग घण्टौँ कुरा गर्न सकिने भएको छ ।
पहिले जस्तो महिनौँसम्म चेली र माइतीको सन्चोबिसन्चोबारे थाहा नहुने अवस्था आज छैन । सर्वदा दुःखसुखका कुरा दिल खोलेर गर्न सकिने भएको छ । संसारव्यापी चेतनाको लहर शिक्षा क्षेत्रमा आएको व्यापक परिवर्तनले पुरातनवादी र रुढिवादी मान्यताहरू क्रमशः भत्किँदै गएका छन् । हिजोकी कर्कसा सासू आमामा, नन्दहहरू बहिनी र आमाजू दिदीमा स्थापित हुँदै छन् । हरेक पर्वका आआफ्ना सांस्कृतिक तथा धार्मिक महत्त्व छन् ।
परम्परा र मनोरञ्जनको संवाहक हरितालिका पर्वलाई केही परिमार्ज गर्नुपर्ने आवश्यकता भएको बोध गरिँदै छ । यो पर्व मनाउने क्रममा विगत केही वर्षदेखि विकृतिहरू पनि बढ्दै गएका छन् । अनावश्यक रूपमा बहुमुल्य गरगहनाहरूको खरिदमा प्रतिस्पर्धा, महँगो पोसाकमा होडबाजी अनावश्यक आर्थिक बोझ खर्चिलो शैलीले यस पर्वलाई बोझिलो बनाउँदै छ । दरखाने नाममा हप्तौँसम्म भोजघर र रेस्टुरेन्टहरूको बुकिङ र जमघटले उत्सव मनाउने तरिका भड्किलो बनिरहेको छ ।
यति मात्र होइन, अस्वस्थकर खाना र नशालु पेय पदार्थको प्रयोगले समाजको पारिवारिक प्रणालीमा गहिरो नकारात्कम प्रभाव पारिरहेको छ । तीजको पूर्वसन्ध्यामा सार्वजानिक गरिने कतिपय सांस्कृतिक प्रस्तुतिहरू पनि पर्वको असल सांस्कृतिक परम्परालाई जोगाउने खालको नभई भड्किलो र पश्चिमा शैलीको हुनु दुःखद पक्ष हो । यस खालका विकृतिजन्य कुराहरूले तीज पर्वको मर्ममाथि प्रहार गरिरहेका छन् ।
त्यसैले तीज पर्व आफ्नो गच्छे अनुसार मनाउन भड्किलो तरिका बन्द गरी चेलीबेटीलाई सम्मान गरौँ । विकृति हटाउन सबै एकजुट हौँ । हरितालिका तीज २०८१ को हार्दिक मंगलमय शुभकामना ।
(लेखिका एमाले केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य हुनुहुन्छ)

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : ३८ बजे