काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै सिर्जनशील युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गर्नुभयो । उहाँले युवाहरुलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको बाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्नुभयो ।
अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरु एक/एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको विस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै सिर्जनशिल युवा युवतीहरुलाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन र देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको बाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्न चाहन्छु । स्टार्टअप बिजनेसलाई अघि बढाउने सन्दर्भमा आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर छ । यसका निमित्त सम्माननीय प्रधानमन्त्रीज्युले हामी मन्त्रीलाई स्पष्ट दिशा निर्देश गर्नुभएको छ । सबै युवा युवतीहरुलाई देशभित्र रहेर उत्पादन र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्नका लागि सिर्जनशिल ढंगले अघि बढ्न म आग्रह गर्न चाहन्छु । विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति पनि हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु । आउने दिनमा स्टार्टअप बिजनेसले नयाँ उचाई प्राप्त गर्नेछ । यो सरकारको जिम्मेवारी सम्हालेको छोटो अवधिमा आम नागरिकहरुमा सरकारप्रतिको विश्वास, सरकारले लिएका निर्णयहरुप्रतिको विश्वास र सरकारले चाल्ने सम्भावित कदमहरुकाप्रति आम नागरिकमा विश्वास जागृत हुँदै गएको पाएको छु । अर्थतन्त्रका क्षेत्रमा जस्ता समस्याहरु छन्, ती समस्यालाई एक/एक गरेर केलाउँदै, समाधान गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको विस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा हामीले हाम्रो अर्थतन्त्रलाई सबल बनाउन सक्छौँ । केही सूचकहरु सकारात्मक पनि देखिएका छन् ।’
अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा शुरुमा सफलताभन्दा असफलता बढी हुने बताउनुभयो । उहाँले स्टार्टअपका लागि आवश्यक कानूनी, संरचनागत प्रबन्ध समन्वयात्मक रुपमा अघि बढाए सफल बनाउने बताउनुभयो । उहाँले सिर्जनाशील युवालाई उत्पादन, रोजगारीमा आबद्ध गर्नसके मात्रै देश समृद्ध बन्ने बताउनुभयो ।
प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ३ : १२ बजे
प्रतिक्रिया