झ्याप्लेखोलाबाट २५ शव निकालियो

कांग्रेस महाधिवेशनः बिहान ११ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नुपर्ने, अन्तिम नामावली पनि आजै

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । 

कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । सभापतिमा मात्र ६ जनाको उम्मेदवारी परेको छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् ।

क्रमअनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ । 

आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । 

राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्रमार्फत गर्नुपर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेटभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । 

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ०४ बजे