झ्याप्लेखोलाबाट २५ शव निकालियो

एमबिबिएस पढाइको शुभारम्भ गर्न राष्ट्रपति आज जुम्ला जानुहुँदै

काठमाडौँ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जाँदै हुनुहुन्छ । 

सो अवसरमा राष्ट्रपतिले रु ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमी भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रपति भण्डारीको जुम्ला आउने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।

रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपति भण्डारी ठिक ११ः०० बजे जुम्ला पुग्ने कार्यक्रम रहेको छ । 

हेलिकोप्टरमा आउन लाग्नुभएका राष्ट्रपति भण्डारी नेपाली सेनाको नन्दाबक्स गणमा अवतरण गर्नुहुनेछ । उहाँले क्वार्टर र एकेडेमी भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको रजिष्ट्रार महतले बताउनुभयो । 

त्यसलगत्तै राष्ट्रपतिले एमबिबिएस, बिएनएस, बिफार्मालगायतका शैक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा हुने रजिष्ट्रार महतले जानकारी दिनुभयो । 

राष्ट्रपति जुम्ला जानुहुने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुग्नुभएको छ ।

सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतलगायत २२ जनालाई सम्मान गर्ने कार्यक्रम छ । 

प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदर पत्र प्रदान गरिनेछ । प्रतिष्ठान स्थापनाकालदेखिका पूर्वपदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सूचना अधिकारी रमेश भट्टराईले बताउनुभयो ।

एमबिबिएसमा १९, बिपीएचमा आठ, बिएनएसमा १६, बिफार्मामा आठ र बिएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ । 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ५० बजे