झ्याप्लेखोलाबाट २५ शव निकालियो

न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नेतर्फ सम्बद्ध निकाय अग्रसर हुनुपर्दछ : राष्ट्रपति भण्डारी 

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव सभ्यता र समाज विकासको क्रम अगाडि बढ्दै जाँदा मानवअधिकारका विभिन्न आयामहरू थपिँदै गएको बताउनुभएको छ ।

७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक शासन व्यवस्थाको आधार स्तम्भको रूपमा रहेका मानवअधिकारको विश्वव्यापी अवधारणाहरूलाई गहिरोसँग आत्मसात् गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।  

उहाँले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारका प्रावधानले मानवअधिकारको दायरालाई फराकिलो बनाएको बताउनुभयो ।

“हाम्रो मुलुक मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र भएको हैसियतले मानवअधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वसमेत राज्यको नै  हुन्छ ।” उहाँले भन्नुभयो,  “राज्यले ती दायित्वहरू पूरा गरे–नगरेको बारेमा निगरानी गरी उत्तरदायी बनाउने जिम्मेवारी संवैधानिक आयोगका रूपमा राष्ट्रिय मानवअधिकार आयोगलाई  दिइएको छ ।” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । 

मानवअधिकारको संरक्षण, संवर्द्धनका विषयमा राज्य र राज्यका निकायहरू मात्र जिम्मेवार भएर पुग्दैन भन्नुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै क्षेत्र, सबै पक्ष जिम्मेवार र जबाफदेही हुन आवश्यक रहेको बताउनुभयो । 

“मानवअधिकारको अर्को महत्त्वपूर्ण विषयका रूपमा रहेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नेतर्फ सम्बद्ध निकाय अग्रसर हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।”, राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ । 

उहाँले जनचेतनाको विस्तारद्वारा संविधान र कानुनमा भएका व्यवस्थालाई कार्यान्वयन गरी समाजबाट सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्न सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक सङ्घ संस्थाहरू क्रियाशील रहनुपर्ने बताउनुभयो । 

उहाँले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा हामी सबैलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भनी कामना समेत गर्नुभएको छ  ।

संयुक्त राष्ट्रसङ्घ महासभाद्वारा सन् १९४८ डिसेम्बर १० का दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ । सदाझैँ यस वर्ष नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ३३ बजे