झ्याप्लेखोलाबाट २५ शव निकालियो

गृहमन्त्री खाँणलाई आफ्नै प्रदेशमा ठूलो धक्का

बुटवल । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महासचिवका सम्भावित दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै प्रदेशमा भने कमजोर देखिनुभएको छ । लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजाका आधारमा कांग्रेस केन्द्रीय सदस्य खाँण कमजोर देखिनुभएको हो ।

कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतिमा रामचन्द्र पौडेल समूहका अमरसिंह पुन निर्वाचित हुनुभएको छ । बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार साहलाई हराउँदै पौडेल पक्षका पुन सभापति निर्वाचित हुनुभएको हो । सभापतिमा निर्वाचित पुनले ८५२ मत ल्याएका छन् भने साहले ७६७ मत प्राप्त गर्नुभएको छ । ८५ मतको अन्तरमा पुन निर्वाचित हुनुभएको हो । 

पदाधिकारीमा एक सभापतिबाहेक पुन प्यानल नै विजयी भएको छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याई विजयी हुनुभएको छ । खनाल भने संस्थापननिकट मानिनुहुन्छ । 

त्यस्तै महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवैजना पौडेलनिकट हुनुहुन्छ । सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याई निर्वाचित हुनुभएको छ । सबै पौडेल समूहकै हुनुहुन्छ । सदस्यहरूमा पनि सबै पौडेल समूहकै विजयी हुनुभएको छ ।

गृहमन्त्री खाँण देउवाका विश्वासपात्र समेत मानिनुहुन्छ । तर, आफ्नै प्रदेश लुम्बिनी प्रदेशको प्रथम अधिवेशन तथा जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशनमा देखिएको कमजोर नतिजाले महामन्त्री बन्ने खाँणको चाहनामा गम्भीर धक्का पुग्ने देखिएको छ । गृहमन्त्री खाँण पार्टीका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएको हो । खाँणकै गृह जिल्ला रुपन्देहीका १० प्रदेशसभा क्षेत्रमा पनि उहाँको निर्वाचन क्षेत्रमा मात्र पकड देखिएको छ । 

गृह जिल्लाको नेतृत्व खाँणकै भाइ रामकृष्णले पाए पनि अन्य पदाधिकारी तथा सदस्यमा पौडेल पक्ष हावी छ । रुपन्देहीका प्रतिनिधिसभाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा भने संस्थापनकै उम्मेदवार विजयी भएका थिए ।

तर, लुम्बिनी प्रदेशको समग्र नतिजा हेर्दा खाँण निकै कमजोर देखिनुभएको हो । प्रदेशका १२ जिल्लामध्ये नौवटा जिल्लाको नेतृत्व पौडेल पक्षले लिएको छ । दुई वटामा मात्र संस्थापन पक्षका उम्मेदवारले जितेका छन् भने बाँके जिल्लाको अधिवेशन भएको छैन । लुम्बिनी प्रदेश अधिवेशनमा एकजना उपसभापतिबाहेक अन्य सबै पौडेल पक्षले जितेको छ ।

यसअघि भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा गृहमन्त्री खाँणका स्वकीय सचिव बिजेश न्यौपाने प्रदेश प्रतिनिधिमा पराजित हुनुभएको थियो । यसबाट पनि खाँणको पकड कमजोर हुँदै गएको पुष्टि हुने संस्थापन समूहकै एक नेताको भनाइ छ ।

गृहमन्त्री खाँणको गृहनगर र बलियो पकड रहेको भनिएको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडा समेटेर बनेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने दुवै प्रदेशसभाका क्षेत्रीय अधिवेशनमा खाँण समूहको प्यानल नै पराजित भएको थियो । सोही क्षेत्रबाट उम्मेदवार बन्नुभएका लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं खाँणका विश्वासपात्र वीरेन्द्र कनौडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित हुनुभएको थियो । संस्थापनइतर समूहका नेता कुमार केसीले प्रदेशको समग्र नतिजालाई हेर्दा खाँण कमजोर देखिएको बताउनुभयो । 

२०७४ सालमा प्रतिनिधिसभा चुनावअघि भएको स्थानीय तहको चुनावी परिणामले असुरक्षित देखिएपछि उहाँ समानुपातिकमा बस्नुभएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ मा असुरक्षित महसुस गरेर उहाँ समानुपातिकमा बस्नुभएको थियो । स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका खाँणका भाइ रामकृष्ण खाँण एमालेका वासुदेव घिमिरेसँग पराजित हुनुभएको थियो । तर, अब आउने संघीय संसदको निर्वाचनमा भने खाँण रुपन्देही क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको उहाँ निकट कार्यकर्ताहरू बताउनुहुनछ ।

पहिलो संविधानसभा निर्वाचन रुपन्देही–३ बाट लड्नुभएका खाँणले एमाले उम्मेदवार लिला गिरीलाई १२ सय मतले पराजित गनुभएको थियो भने दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार घनश्याम भुसाललाई सोही क्षेत्रमा ८५ मतले मात्र पराजित गर्नुभएको थियो । २०७४ सालमा भने कांग्रेस–राप्रपाका साझा उम्मेदवार दिपक बोहोरालाई भुसालले झण्डै पाँचहजार अन्तरमा हराउनुभएको थियो । यसले पनि खाँण आफ्नै जिल्ला, क्षेत्र र प्रदेशमा कमजोर हुँदै गएको देखाउँछ । गत १४ कात्तिकमा भैरहवामा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले गठबन्धनबिना एमालेलाई हराउन सजिलो नभएको अभिव्यक्ति दिनुभएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ११ : ०१ बजे