झ्याप्लेखोलाबाट २५ शव निकालियो

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । 

भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुन लागेको हो ।

अध्यक्षका लागि नेता द्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूले प्यानल नै खडा गरेका छन् । उपाध्यक्षमा नौ जना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तीकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उहाँले बताउनुभयो। अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताउनुभयो । प्रारम्भिक नामावली २ः०० बजे प्रकाशित हुनेछ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ३० बजे