झ्याप्लेखोलाबाट २५ शव निकालियो

‘श्यामबजार’को विरासतदेखि ‘सौराहा’ सम्मको सफलताका लागि एमालेलाई हार्दिक बधाई !

काठमाडौं । भारत, पश्चिम बंगालको श्यामबजारमा चार जनाको उपस्थितिमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी नेपाल, चितवनको सौराहासम्म पुग्दा भएको विकास संसारले देखेको छ । कठिन परिस्थितिमा अर्कैको देशमा, अर्कैको सानो कोठामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी आज नेकपा (एमाले)का रूपमा विशाल पार्टी बनेको देख्न पाउनु नेपाली कम्युनिष्टहरूका लागि गौरवको विषय हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रूपमा स्थापित नेकपा एमालेले आफ्नो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । आन्दोलनहरूमा जनताको उच्च सहभागिता रहने गरेको देखिएको हो, तर कुनै एउटा राजनीतिक दलको औपचारिक कार्यक्रममा रहेको जनसहभागिता अभूतपूर्व हो । लाखौँ जनताको सहभागिता तथा पूर्ण लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न सफल नेकपा एमालेलाई हार्दिक बधाइ छ । 

कोलकाताको श्यामबजारदेखि चितवनको सौराहासम्मको यो यात्रामा नेपाल कम्युनिष्ट पार्टीले निकै ठूला आँधिबेहरी बेहोरेको छ र सफलताको उपलब्धि पनि प्राप्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको श्यामबजारदेखि सौराहा सम्मको यात्रा सधैभरि सहज रहेन । तर, सफलताले असहजता बिर्साइदिएको पनि छ । देशका जनताले एमालेप्रतिको लगाव, आशा, भरोसा महाधिवेशनमा सहभागी भएर प्रकट गरे । तर, कतिपयले एमालेमा सकेसम्म विग्रह आओस् भन्ने कामना र प्रयास पनि गरे होलान् । कहिल्यै अधिवेशन नै नगरेर पार्टी सत्तामा रमाउनेहरू पनि एमालेलाई लोकतन्त्रको शिक्षा दिँदै गरेका भेटिन्थे । व्यक्तिगत मान–अपमान उछालेर आन्दोलन गर्ने र सत्रुको पाउमा शक्ति सुम्पनेहरू पनि एमालेमा जनवादको शिक्षा दिँदै गरेका देखिन्थे । वडा तहको कार्यकर्ता भेलामा गोली चलाचल हुने लोकतन्त्रवादीहरू एमालेमा लोकतान्त्रिक अभ्यासको कमी देख्थे र यसका लागि उचाल्थे । मिडियामा प्रकाशित समाचार र काटुनहरू हेर्दा यिनीहरूको क्षमता र कलाको हदैसम्म दुरूपयोग भएको देखिएकै हो । तर, यी सबैलाई छिचोल्दै एमालेको नेतृत्व र विवेकशील प्रतिनिधिहरूले यस महाधिवेशनलाई वास्तविक रूपमा ऐतिहासिक र एकताको महाधिवेशन बनाउन सफलता पाएको स्पष्ट छ । सहमतिको सर्वसम्मति र प्रतिस्पर्धाको निर्वाचन दुवै विधि यसमा प्रयोग हुनु अत्यन्त महत्वपूर्ण छ । 

यद्यपि, नेपाल कम्युनिष्ट पार्टीले स्थापनाको केही समयमा काठमाडौँ नगर पञ्चायतको चुनाव मार्फत जनादेश—जनमतद्वारा स्थापित हुने प्रयास गरेको थियो । यसले कम्युनिष्ट पार्टीलाई राजनीतिक आन्दोलनमा मात्र सीमितताबाट बाहिर जनताको विकासको आकाङ्क्षामा समेत सहभागी बनाएको थियो । यसै प्रयासको निरन्तरता स्वरूप वि.स. २०१५ सालको प्रथम संसदीय निर्वाचनमा सहभागी भएर संसदको चार सिटमा विजय पनि प्राप्त गरेको थियो । तथापि, यस विषयमा पार्टीको सिद्धान्त, विचार, नीति र बाटो स्पष्ट थिएन । निर्वाचनमा भाग लिने या नलिने विषय सिद्धान्ततः स्पष्ट थिएन । हुन त कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचित नेताहरूले जनताको हितका पक्षमा नै बल दिएको देखिन्छ । त्यस यता निकै लामो (३० वर्ष) समयसम्म प्रतिबन्धमा नै रहनुपरेकाले नेकपा निरंकुश व्यवस्था विरोधी आन्दोलनमा रहनु प¥यो । 

पञ्चायति व्यवस्थाका विरुद्धको आन्दोलनका सन्दर्भमा पनि कम्युनिष्ट पार्टी स्पष्ट रहन सकेन । विघटित संसद पुनःस्थापनाको पक्षमा या यसको विपक्षको वहसमा नेकपा अल्झियो । यति मात्र होइन, वैदेशिक शक्तिलाई हेर्ने दृष्टिकोण, क्रान्तिको मोडेलका रूपमा रसियन क्रान्ति कि चिनियाँ क्रान्ति भन्ने विषयमा, सोभियत संघलाई समाजवादी मान्ने कि नमान्ने जस्ता विषयमा समेत कम्युनिष्ट पार्टीहरूमा ठूलो र निर्णायक मतान्तर रहेको इतिहास छ । 

त्यस बीचमा कम्युनिष्ट पार्टीहरू अनेक टुक्रामा विभाजित हुने, संगठित हुने क्रम चलिरह्यो । समय क्रममा झापा विद्रोहपछि यसका सहजता, असहजता, उपयुक्त, अनुपयुक्त, कति सही, कति गलत भन्ने विषयमा केन्द्रित वहस सुरु भयो । आखिर, आफ्नो वर्ग सत्रु खत्तमका नाममा चलाइयो हिंसात्मक विद्रोहको कार्यनीतिलाई स्थगित गर्दै क्रान्तिकारी राजनीतिक शक्ति निर्माण तथा जनताका मागहरूलाई संगठित गर्दै अघि बढ्ने बाटो समातेपछि यो समूह नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित भयो । को—अर्डिनेशन केन्द्र हुँदै अघि बढेको यो धार नेकपा(माले) बन्दा सम्ममा अनेकौँ कम्युनिष्ट समूहहरूको संगठित एकीकृत शक्तिको रूपमा सशक्त र जिम्मेवार रूपमा देखापर्न सफल भयो । यही विरासत नेकपा (एमाले) हो । 

नेकपा(एमाले) यति लोकप्रिय, यति शक्तिशाली र जनताको आशा — भरोसाको केन्द्र बन्नुमा यसका अनेकौँ नेता, कार्यकर्ताहरूको सहादत, त्याग, सुझबुझ र क्रियाशीलताको ठूलो भूमिका छ । यसमा सबैभन्दा महत्वपूर्ण पक्ष दुनियाँका कम्युनिष्ट र गैरकम्युनिष्ट सिद्धान्त तथा विचारधाराहरूका आधारमा यसले आफैले संश्लेषण गरेको निष्कर्ष हो । खासगरी तत्कालीन नेकपा(माले) माले सिराहामा आयोजना गरी सम्पन्न गरिएको नेकपाको चौथो महाधिवेशन यसको जगको रूपमा देखा पर्दछ, जसमा मदन भण्डारी नेतृत्वमा आउनुभएको थियो जनताको बहुदलीय जनवादको अवधारणा जन्मिएको थियो । 

नेकपा (एमाले)लाई यो उँचाइमा पु¥याउने मूलपक्ष यसले अवलम्बन गर्दैआएको सिद्धान्त, कार्यक्रम, विचार र नीति नै हो । यिनलाई बलियो गरी अघि बढाउने नेता कार्यकर्ताको सक्रियता अर्को महत्वपूर्ण पक्ष हो । यसको सैद्धान्तिक मियो जनताको बहुदलीय जनवाद हो । जनताको बहुदलीय जनवाद नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनमा तत्कालिन महासचिव जननेता कमरेड मदन भण्डारीद्वारा प्रस्तुत गरी पारित गरिएको नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने एक क्रान्तिकारी सिद्धान्त हो । यो सिद्धान्त माक्र्सवादलाई नेपालको विशिष्टतामा सिर्जनात्मक ढंगले प्रयोग गर्दा विकास भएको नेपाली संस्करणको माक्र्सवाद हो । यसको विकासको आधार ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौं !’ भन्ने पाँचौँ राष्ट्रिय महाधिवेशनको मुल नारा हो । 

देशमा लामो समयदेखि निरंकुश, तानाशाही एवं एकदलीय अधिनायकवादी शासन प्रणाली, नेपालको कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै निरंकुश तन्त्रको विरुद्धमा र लोकतन्त्रको पक्षमा संघर्ष गर्दै आएको पृष्ठभूमि, झापा सघर्षका बेला प्रकट भएको उग्रवामपन्थी क्रियाकलापको समीक्षा गरी त्यसलाई त्याग गर्दै जनसघर्ष र जनआन्दोलनको कार्यदिशा अवलम्बन, नेपालको कम्युनिष्ट आन्दोलनमा बेलाबेला प्रकट हुने उग्रवामपन्थी र दक्षिणपन्थी भड्काव विरुद्ध सञ्चालन गरिने वैचारिक संघर्ष, तत्कालिन नेकपा (माले) ले ४३ सालबाट निरंकुश पञ्चायती व्यवस्थालाई धाराशायी बनाउन पञ्चायती निर्वाचनलाई समेत उपयोग गर्ने नीति, कमरेड पुष्पलालद्वारा प्रस्तावित संयुक्त जनआन्दोलनको नीति र त्यसलाई कार्यान्वयन गर्ने तत्कालिन नेकपा (माले) को पहल कदमी, जननेता कमरेड मदन भण्डारीको दूरदर्शी तथा प्रभावकारी वैचारिक एवं राजनीतिक नेतृत्व विकास विकास जनताको बहुदलीय जनवादका पृष्ठभूमि हुन् । यी आन्तरिक विषय हुन् भने सोभियत संघ लगायत पूर्वी युरोपका कम्युनिष्ट मुलुकहरूमा लोकतान्त्रिक मूल्य मान्यताको संकुचनका कारण कम्युनिष्ट पार्टी र कम्युनिष्ट सत्ताहरू विगठन हुँदै गएको अवस्था, विश्व कम्युनिष्ट आन्दोलनभित्र विसर्जनवादको खतरा तीव्र रूपले बढ्दै गएको पृष्ठभूमि, कम्युनिष्ट पार्टीद्वारा सञ्चालित राज्य व्यवस्थाहरू अनावश्यक रूपमा अधिनायकतर्फ उन्मुख हुँदै गइरहेको अवस्था र त्यसप्रति उत्पन्न विरोध यसको विकासका केही बाह्य पक्ष हुन् । 

यस्तो विश्लेषण र संश्लेषण नै आजको नेकपा (एमाले) हो । अहिले पनि एमालेमाथि बाह्य र आन्तरिक चुनौती कम छैन । कम्युनिष्ट आन्दोलभित्रको उग्रपन्थी सोच र व्यवहार एकातिर परम्परागत समस्या हो भने यसको दक्षिणपन्थमा भइरहने पतन कम्युनिष्ट आन्दोलनको चुनौती हो । चुनावी प्रतिस्पर्धाको माध्यमबाट राज्य सत्ता सचालनको जिम्मेवारी लिइरहँदा अन्य समस्याहरू पनि सँगै आउने गरेका छन् । सानातिना निजी स्वार्थदेखि राष्ट्रका लागि ठूला असर पार्ने विषयहरू समेत उपस्थित हुन्छन् । आन्दोलनका क्रममा उठाइएका विषय व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी आफैमा गहन विषय हुन्छ नै । हिजोको त्याग तपस्याको राजनीति आज अवसर र प्राप्तिमा पुग्दा गर्नुपर्ने व्यवस्थापन सहज हुँदैन तर यसको व्यवस्थापनबाट पन्छिन मिल्दैन । सैद्धान्तिक र वैचारिक अन्तर्विरोधको ठाउँ अवसरको खोजी, माग र प्राप्तिले लिँदा आइपर्ने समस्या समाधानबाट पन्छिन मिल्दैन । ठूलो र जिम्मेवार राजनीतिक शक्तिका हिसाबले यी सबैको व्यवस्थापन गर्न त्यस्तै प्रकारको जनशक्ति विन्यास तथा परिचालन कम्युनिष्ट पार्टीको नयाँ र विशेष कामका रूपमा विकसित भएको छ । शक्तिमा नहुँदा दाता बन्ने कबोल गर्नु र क्रन्तिकारी आदर्श छाँट्नु जस्तो सहजता आजको एमालेलाई छैन । 

भाषा, संस्कृति, शिक्षा, अर्थतन्त्र, सामाजिक न्याय, सुरक्षा, संरक्षा, राष्ट्रको समग्र विकास आदिका साथै राष्ट्रिय स्वाभिमान, समदूरीको अन्तर्राष्ट्रिय मित्रता आदि सबै एमालेका लागि महत्वपूर्ण अपरिहार्य जिम्मेवारीका क्षेत्र हुन् । ‘सबैसँग मित्रता, छैन कसैसँग सत्रुता’ अन्तर्राष्ट्रिय सम्बन्धको मान्यता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प एमालेको सफलताको अन्तर्वस्तु सन्निहित छ । 

एमाले देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भएको हुनाले यसलाई अरु कसैको भन्दा आपूmलाई आफ्नै चुनौती पर्याप्त छ । यसमा आकर्षित भइरहेको ठूलो पङ्क्तिलाई पार्टीको क्रान्तिकारी शक्तिमा रूपान्तरण गर्नु आफैमा एउटा महत्वपूर्ण चुनौती देखिन्छ । बढ्दै गरेको कामका क्षेत्रहरूमा योग्य कार्यकर्ताहरूलाई जिम्मेवारी दिने, इतिहास योगदानको सम्मान गर्दै हरेकका क्षमताको सदुपयोग हुने गरी जिम्मेवारी दिने विषयमा विशेष ध्यान दिन आवश्यक देखिन्छ । कामहरूलाई विचारसम्मत बनाउन र विचारलाई कामसँग जोड्न आवश्यक छ । समग्रमा, नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको मात्र नभई नेपाली राजनीतिक संघर्षहरूको जीवन्त इतिहास हो । राजनीतिमा इतिहासलाई अगाडि बढाउनुको अर्थ हुन्छ, नयाँ इतिहास निर्माण गर्नु । यो काम अध्ययनशील, लगनशील, निष्ठावान, क्रियाशील, तत्पर नेता—कार्यकर्ताबाट मात्र सम्भव हुन्छ । यसका लागि पार्टी पङ्क्ति प्रशिक्षित भइरहनु आवश्यक छ । पार्टीका नेता—कार्यकर्ताले अध्ययन मात्रै या काम मात्रै गर्नु हुँदैन । अध्ययन र काम सँगसँगै अघि बढाउनु पर्दछ । यसतर्फ पार्टी नेतृत्वको ध्यान जाने नै छ । 

सारमा, ‘दक्षिणपन्थी अवसरवाद संगठनात्मक अराजकतालाई परास्त गरौँ ! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ !’ भन्ने नाराको मर्म आत्मसात सार्थक बनाउने प्रयाुमा सफलता मिलोस् ।  श्यामबजारमा स्थापित नेकपाको मूल प्रवाह बनेको नेकपा एमाले र सौराहामा निर्वाचित भएको यसको नेतृत्वलाई शुभकामना साथ हार्दिक बधाई !
 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १२ : ५३ बजे