काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ ।
सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो ।
सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ ।
दुई सय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने बैठकले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय समेत गरेको छ ।
पैँतालिस सदस्यीय स्थायी समिति यथावत् रहेनछ । एमालेको आयोग २५ सदस्यीय हुने भएको छ ।
त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारीको सङ्ख्या थप गरिएकामा वरिष्ठसहित उपाध्यक्ष सात र उपमहासचिव तीन जना रहनेछन् । कूल पदाधिकारी सङ्ख्या १९ पुगेको छ ।
यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । पदाधिकारी मध्येबाट पाँच जनाको सचिवालय बनाउने व्यवस्था थियो ।
बैठकको निर्णयअनुसार ३०१ सदस्यीय सल्लाहकार परिषद् हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि सुरु हुने महाधिवेशनको बन्द सत्रमा विधान संशोधन प्रस्ताव पेस गरिने पार्टीका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार ७ : ४८ बजे
प्रतिक्रिया