झ्याप्लेखोलाबाट २५ शव निकालियो

चितवनमा महाधिवेशन गर्दा किन छटपटी ? : अध्यक्ष ओली

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आफ्नो पार्टीको महाधिवेशन गर्दा विपक्षीलाई किन छटपटी भएको ? भनेर प्रश्न गर्नुभएको छ । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न चितवन आउनुभएका ओलीले प्रचण्डलाई लक्षित गरी उक्त प्रश्न गर्नुभएको हो ।

एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूविरुद्ध लड्नकै लागि एमालेले यहाँ महाधिवेशन गर्न लागेको बताएका थिए । प्रचण्डको गृहजिल्लासमेत रहेको चितवनमा आएर ओलीले भन्नुभयो, ‘चितवनमा महाधिवेशन गर्ने भइयो के भन्या' थ्यो, सेरोफेरो सबै मेरो जस्तो पो गर्छन् । चितवनमा महाधिवेशन गर्न के ठूलो कुरा भयो ? पहिले बुटवलमा गर्‍यौँ, नेपालगंज र जनकपुरमा गर्‍यौँ । यसपालि चितवनमा गर्छाैं । किन छटपटी ?’

चितवनमा महाधिवेशन गरे पनि वा नगरे पनि एमालेले स्वतः जित्ने उहाँले दाबी गर्नुभयो । ‘जनताले पनि एकचोटि धोका पाए । हामीले पनि पायौँ । झण्डै दुई तिहाइ पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पारे । कोको हुन् भन्ने चिनेको छैन ?’, उहाँले भन्नुभयो । अबको चुनावमा माओवादीकै कार्यकर्ताले सूर्य चिह्नमा मतदान गर्ने उहाँले दाबी गर्नुभयो ।

फरक प्रसंगमा बोल्दै ओलीले वर्तमान गठबन्धनको सरकार केही समयमा आफैँ खुइलिएर जाने बताउनु भयो । जालझेल र सेटिङ मिलाएर सरकार बनाएको रहेछ भन्ने कुरा स्पष्ट भइसकेको उहाँले बताउनुभयो  । ‘न्यायाधीशहरू आफैँ भन्न थाले । बकपत्र सुरु गरे । अमेरिकाबाट आएको ईमेल पढिसक्न नपाउँदै छोपछोप बन्द गर..’,उहाँले भन्नुभयो , ‘भण्डाफोर पो हुन लाग्यो । आधैमा रोके । प्रतिक्रियावादीहरूले यस्तो हर्कत गर्छन् ।’

नेकपा एमालेलाई सरकारबाट ढाल्नका लागि असंवैधानिक बाटो रोजेको कुरा उक्त ईमेलमा स्पष्ट रहेको उहाँले दाबी गर्नुभयो । एमालेसँग अगाडिबाट लड्न नसकेपछि पछाडिबाट झुक्याएर असंवैधानिक ढंगबाट परमादेशले हानिएको उहाँले  बताउनुभयो  ।

‘रामको जन्मभूमि अयोध्यापुरी नै हो’

अध्ययन गर्दै जाँदा भगवान् रामको जन्म चितवनको अध्योध्यापुरीमै भएको भन्ने तथ्य फेला परेको अध्यक्ष ओलीले बताउनुभयो  । 'रामको जन्मभूमि अयोध्यापुरी नै हो । रामायण लेखिएको वाल्मीकि आश्रम छँदै छ । देवघाट यहीँ छ । तीन हजार वर्ष अगाडि धेरै कुरा यहाँ भएका थिए । समय क्रममा सभ्यता कमजोर भएर गयो, छोपियो । अब हामीले पुरानो सभ्यता उठाउनु छ', ओलीले भन्नुभयो । 

गठबन्धनविरुद्ध एमाले एक्लै काफी

देश बनाउने पार्टी एमालेबाहेक अरू नभएको भन्दै उहाँले कांग्रेसको कुनै गन्तव्य नै नभएको दाबी गर्नुभयो । आगामी चुनावमा पाँच दलीय गठबन्धनविरुद्ध लड्न एमाले एक्लै काफी हुने उहाँले बताउनुभयो । ‘पाँचवटा मिलेरै जाऊ । हामी एक्लै काफी छौँ । काफी हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘धनुबाट छुटेको बाणझैँ लाग्न हाम्रा साथीहरूलाई आग्रह गर्छु । कुनै बैसाखी नटेकी एक्लै जिताउन लाग्नुहोस् ।’

चितवनबाट तीन जना प्रतिनिधिसभा सांसद र छ जना प्रदेश सांसद एमालेबाट चाहिने उहाँले बताउनुभयो । सबै पालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पनि एमालेबाटै हुनुपर्ने उहाँको भनाइ छ । मतपत्र च्यात्ने र धाँधली गर्ने नभई जनताको मतबाट नै विजयी बनेर देखाउने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ३३ बजे