झ्याप्लेखोलाबाट २५ शव निकालियो

संसदीय व्यवस्था असफल : विप्लव 

दाङ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भैसकेको बताएका छन् । युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्नेभन्दा खोस्ने र नेताहरू मात्रै मोटाउने काम भएको भन्दै यसको औचित्य सकिएको दाबी गरे । 

अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नु पर्ने उनको धारणा थियो । त्यसो अवस्था आए आफूहरू चुनावमा जानेसमेत उनले बताए । राज्य सत्ता अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै विप्लवले न्यायलयमासमेत प्रश्न उठ्नु दुर्भाग्यपूर्ण भएको बताए । 

भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरीमा सबै लिप्त भएको तर जनताको अधिकार र न्याय स्थापितमा ध्यान नदिँदा अहिलेको व्यवस्थामाथि प्रश्न गर्नुपर्ने बाध्यता आइपरेको उल्लेख गरे । नेता विप्लवले अमेरिकी सहयोग एमसिसी सहयोग लिन सकिने तर निस्वार्थ हुनुपर्ने बताए । 

साथै महासचिव विप्लवले सरकारसँग भएका सम्झौताको कार्यान्वयन हुन नसकेको प्रति आक्रोशसमेत व्यक्त गरे । तत्काल सहमती कार्यान्वयन गरेर इमान्दारिता देखाउने समेत सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : २७ बजे