झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रचण्ड अस्थिरताको खेलाडी हुन् : नेता ज्ञवाली

गुल्मी । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गर्नुभएको छ । 

एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने र थुक्ने गरेर अस्थिरताको खेती गरिरहेको आरोप लगाउनुभयो  । ‘प्रचण्डले जनताको रगत र शरीरमा रहेका छर्रा बिर्सेर सत्ताको लागि जे पनि गर्छन् । अहिले कांग्रेसको पाहुना बनेका छन्,’ उहाँले भन्नुभयो, ‘अपवित्र गठबन्धप्रति जनताको केही आश छैन ।’

त्यस्तै उहाँले एमालेको भोट लगेर कांग्रेसलाई चढाउने माधव नेपालसहितका नेताको कारण पार्टीको आन्तरिक जीवनमा केही असहजता आएपछि आफूहरु प्रतिपक्षमा बसेर पनि जनताकै पक्षमा काम गरिरहेको बताउनुभयो  ।

उहाँले उच्चस्तरीय सम्झादारीसहितको सर्वसम्मत कमिटी चयन गर्न शुभकामना व्यक्त गर्नुभयो  । अहिले दल, अदालत, निर्वाचन आयोग र सभामुखजस्ता संस्थाबाटसमेत घेराबन्दीमा परेकाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन सर्वसम्मत कमिटी निर्माणसँगै संगठन गतिशील बनाउन, पार्टीका विचार र सिद्धान्त जनता माझमा पुर्‍याएर नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन ज्ञवालीले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो  ।

देशमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने पार्टी एमाले भएको दाबी गर्दै उहाँले विधान महाधिवेशनसहित देशभर वडा र पालिकाको अधिवेशन एकै साथ सम्पन्न गरिरहेको बताउनुभयो  ।

उहाँले आज नै मुसिकोट नगरकमिटीको अधिवेशन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गुल्मीका १० गाउँकमिटी र २ नगरकमिटीको प्रथम अधिवेश एकैसाथ सुरु भएका छन् । 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : १५ बजे