झ्याप्लेखोलाबाट २५ शव निकालियो

मुगुमा यात्रु बाहक बस दुर्घटना : २४ जनाको मृत्यु

कर्णाली । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस छायाँनाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटनामा परेको छ । 

भे १ ख ३१६७ नम्बरको बस आज दिउँसो १:००  बजेतिर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

बसमा ३९ यात्रु सवार थिए । प्रदेश प्रहरी प्रमुख डिआईजी गणेश बहादुर ऐरले सो घटनामा २४ जनाको मृत्यु भएको बताउनुभयो । मृतकको संख्या बढी हुनसक्ने उहाँले  बताउनुभयो ।

घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । 

सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको जनाइएको छ ।  

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ३ : १० बजे