झ्याप्लेखोलाबाट २५ शव निकालियो

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण (तस्विरहरु)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद्को विस्तार गर्नुभएको हो ।

आज विस्तारित मन्त्रिमण्डलअनुसार राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीले पनि आजै राष्ट्रपति समक्ष पथ तथा गोपनीयताको शपथ लिनुभएको हो ।

आजै प्रधानमन्त्री देउवा समक्ष नवनियुक्त राज्यमन्त्री द्धय भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादवले पद तथा गोपनीयताको शपथ लिनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुख, मुख्यसचिव, प्रधानसेनापतिलगायतको उपस्थिति थियो ।

समारोहमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रयादवलगायत उपस्थिति थियो । नवगठित मन्त्रिमण्डलमा ११ जना नयाँ अनुहार हुनुहुन्छ । गत असार २९ गते गठन भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आज चौथो पटक विस्तार भएको हो । सरकार गठन भएकै दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुईरदुई जना मन्त्री भएका थिए । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र पछिल्लो पटक परराष्ट्र मन्त्रीमा डा नारायण खड्कालाई नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ३५ बजे