झ्याप्लेखोलाबाट २५ शव निकालियो

पाटेबाघको घेरामा परेका तीन गोठालाको सकुशल उद्धार

नेपालगञ्ज ।  बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा शनिबार दिउँसो गोठाला गएका स्थानीयलाई पाटेबाघले घेरेकोमा सकुशल उद्धार गरिएको छ । पूर्व-पश्चिम राजमार्गबाट करिब १ किलोमिटर दक्षिण खर्चेताल जाने बाटो नजिक गोठाला गएका तीन जनाको सकुशल उद्धार गरिएको हो । 

उद्धार हुनेहरूमा गाभर निवासी अन्दाजी ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हिरा खड्का र २४ वर्षीया कालिका खड्का रहेका छन् । उनीहरूको निकुञ्जका हात्ती प्रयोग गरी सकुशल उद्धार गरिएको हो ।

भैंसी र बाख्रा चराउन जंगल गएका उनीहरूलाई खर्चेताल नजिक तीनवटा बाघले घेरेको स्थानीयले बताएका छन् । चरिरहेका भैंसीलाई आक्रमण गर्न खोजेपछि भैंसी राप्ती नदीतर्फ भागेको र बाघबाट जोगिन रुखमा चढेका उनीहरूलाई निकुञ्जका हात्ती प्रयोग गरेर दिउँसो उद्धार गरिएको हो । 

बाघले घेरिरहेको अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरी माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए । राप्तीमा पसेका भैंसी अझै सम्पर्कमा आएका छैनन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जंगलमा बाघ देखिएको भन्दै गोठाला गएका स्थानीयलाई हात्ती चराउन जंगलमा लगेका माहुतेले जंगल बाहिर पठाएको जानकारी दिए । यद्यपि निकुञ्जको पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले भने विभिन्न सञ्चार माध्यमालाई गोठाला गएकालाई बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरी उद्धार गरिएको बताएका थिए ।

गाभर क्षेत्रमा गत भदौ २७ गते एक भारतीय नागरिकलाई पाटे बाघले आक्रमण गरी मारेको थियो । त्यसयता निकुञ्जले पाटेबाघ नियन्त्रणमा लिनको लागि गरेका विभिन्न प्रयास खेर गएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : १५ बजे