भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि सामूहिक प्रयास आवश्यक : राष्ट्रपति

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्ने बताउनुभएको छ ।

३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरू आफ्नो जीवनकालभरिका अनेकन् उतार–चढाव‚ सफलता–असफलता र सङ्घर्षपूर्ण भोगाइबाट आर्जन गरिएका ज्ञान, सिप र अनुभवका पुञ्ज हुनुहुन्छ भन्नुभएको छ । 

ज्येष्ठ नागरिकहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्ने 

उहाँले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्ने बताउनुभएको छ ।

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दै गएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले आफ्नो जीवनको ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि योगदान गर्ने ज्येष्ठ नागरिकको जीविकोपार्जन र रहनसहनलाई मानवोचित स्तरमा सुनिश्चित गर्नका लागि नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा‚ सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सेवा र सुविधाहरूको व्यवस्था गरेको बताउनुहुँदै यसको प्रभावकारी र सम्मानपूर्ण कार्यान्वयन गर्न सम्बद्ध सबैमा आह्वान समेत गर्नुभएको छ ।  

“विगत करिब दुई वर्षदेखि सम्पूर्ण विश्वलाई नै आक्रान्त बनाएको कोभिड– १९ महामारीको पीडाबाट नेपाल पनि अपवाद रहन सकेन । महामारी विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेको छ । यद्यपि महामारीबाट पूर्ण मुक्ति नपाएसम्म जनस्वास्थ्यका मापदण्डहरू पालना गरिरहन सम्बद्ध सबैलाई आग्रह गर्दछु ।” उहाँले सन्देशमा भन्नुभएको छ । 

उहाँले माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने हाम्रो पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान समेत गर्नुभएको छ ।

  

 

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : २९ बजे